रोल्पा, जेठ २९ । सुनिल स्मृति गाउँपालिकाको २०औँ गाउँसभाको पहिलो अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत तथा सर्वसम्मत रूपमा पारित गरिएको छ। कार्यक्रमका सभाअध्यक्ष तथा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढा थाेकीले शुभारम्भ गर्दै स्थानीय सरकारलाई नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित गर्दै जनअपेक्षा, सुशासन, पारदर्शिता र दिगो विकासका लक्ष्य हासिल गर्न नीति तथा कार्यक्रम केन्द्रित गरिएको बताए।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्षले लोकतन्त्र, गणतन्त्र र अग्रगामी परिवर्तनका लागि योगदान पुर्याउने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए। साथै घाइते, अपाङ्ग तथा प्रभावित नागरिकहरूको स्वास्थ्य लाभको कामना गर्दै संविधानले परिकल्पना गरेको समृद्ध, समावेशी र सुशासित समाज निर्माणतर्फ गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, व्यवसायिक कृषि प्रवर्द्धन, माटो परीक्षण, उत्पादनमा आधारित अनुदान, मौरीपालन, प्राङ्गारिक खेती, आधुनिक कृषि उपकरण वितरण, पशुपन्छी स्वास्थ्य सेवा, पशु बीमा, नस्ल सुधार तथा कृषि–पशुजन्य उत्पादनको बजारीकरणलाई प्राथमिकता दिइएको छ। यस्तै धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन र होमस्टे सञ्चालनलाई समेत विशेष महत्व दिइएको छ।
शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर सुधार, शिक्षक बैंक स्थापना, विद्यालय वर्गीकरण, अंग्रेजी माध्यमको पठनपाठन, पुस्तकालय स्थापना, सूचना प्रविधिमैत्री शिक्षण, छात्रवृत्ति, खेलकुद विकास तथा प्राविधिक शिक्षामा जोड दिने नीति लिइएको छ। स्वास्थ्यतर्फ निःशुल्क औषधि वितरण, घुम्ती स्वास्थ्य शिविर, क्षयरोग नियन्त्रण, मानसिक स्वास्थ्य कार्यक्रम, आयुर्वेद सेवा विस्तार, पोषणमैत्री तथा क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य राखिएको छ।
महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य लक्षित वर्गको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। लैङ्गिक समानता, सामाजिक समावेशीकरण, बालमैत्री तथा अपाङ्गमैत्री संरचना निर्माण, हिंसा न्यूनीकरण, सुरक्षित आवास गृह सञ्चालन, नेतृत्व विकास तथा आयआर्जनमूलक कार्यक्रमलाई निरन्तरता दिने योजना पनि समेटिएको छ।
पूर्वाधार विकास अन्तर्गत सडक स्तरोन्नति, खानेपानी विस्तार, सिँचाइ, सार्वजनिक भवन निर्माण, फोहोर व्यवस्थापन, विद्युत् विस्तार, विपद् जोखिम न्यूनीकरण, रिचार्ज पोखरी निर्माण, बजार व्यवस्थापन तथा सुरक्षित आवागमन सुनिश्चित गर्ने कार्यक्रम समावेश गरिएको छ। साथै सुशासन, डिजिटल सेवा प्रवाह, सार्वजनिक सुनुवाइ, कर्मचारी क्षमता विकास, सामाजिक उत्तरदायित्व र पारदर्शितालाई थप प्रभावकारी बनाउने नीति पनि अघि सारिएको छ।
नीति तथा कार्यक्रममाथि छलफलका लागि गाउँसभा सदस्यहरूलाई समय प्रदान गरिएपछि अध्यक्षले प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरेका थिए। सभामा उपस्थित सदस्यहरूको समर्थनपछि आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको घोषणा गरिएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्षले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा स्वीकृत भएको जानकारी गराउँदै गाउँसभाको दोस्रो बैठक असार ९ गते बिहान ११ बजे बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका थिए। उपस्थित राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी तथा नागरिक समाजका प्रतिनिधिलाई धन्यवाद दिँदै बैठक औपचारिक रूपमा समापन गरिएको थियो।


