विभेदकारी निर्णयको विरोधमा दाङका पत्रकारद्वारा प्रशासन कार्यालय अगाडि धर्ना

घोराही, जेठ २७ । निजी सञ्चारमाध्यम तथा सञ्चारकर्मीप्रति सरकारले अपनाएको विभेदपूर्ण नीतिको विरोध गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्वमा जिल्लाका सक्रिय पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय दाङ अगाडि एक घण्टे धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानअनुसार सञ्चालन गरिएको देशव्यापी आन्दोलनको कार्यक्रमअन्तर्गत दाङमा पनि विरोध प्रदर्शन गरिएको हो। धर्नामा सहभागी पत्रकारहरूले सरकारी विज्ञापन तथा सार्वजनिक सूचनामाथि नियन्त्रण स्थापित गर्ने उद्देश्यले ल्याइएको निर्णयले प्रेस स्वतन्त्रता र स्वतन्त्र सञ्चारमाध्यमको अधिकारमाथि प्रत्यक्ष असर पार्ने बताएका छन्।

उनीहरूले उक्त निर्णयले सञ्चार क्षेत्रलाई कमजोर बनाउनुका साथै निजी सञ्चारमाध्यमको अस्तित्वमाथि समेत प्रश्न खडा गर्ने भएकाले तत्काल सच्याउन सरकारसँग माग गरेका छन्।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष केएल बुढाथोकी, लक्ष्मी आचार्यलगायत पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारले आफ्नो निर्णय फिर्ता नलिएसम्म तथा मागहरूको सम्बोधन नगरेसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्। उनीहरूले प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने अधिकार तथा स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि एकताबद्ध भएर संघर्ष जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यसैबीच, सरकारको उक्त निर्णयविरुद्ध दाङमा संकलन गरिएको हस्ताक्षर अभियानको ज्ञापनपत्र सरकारसमक्ष पठाइएको छ। हस्ताक्षरसहितको ज्ञापनपत्र दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनमार्फत बुझाइएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस