घाेराही , चैत्र १। मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यास, हवाई इन्धन र मट्टीतेललगायत पेट्रोलियम पदार्थमा प्रभाव परेको जानकारी शुक्रबार नेपाल आयल निगमले गराएको थियो। त्यसको असर दाङको घोराही क्षेत्रमा पनि देखिन थालेको छ।
हाल घोराही बजारमा पेट्रोलियम पदार्थ भने सहज रूपमा उपलब्ध छ। तर खाना पकाउने एलपी ग्यासमा भने केही अभाब देखिएको छ। आयल निगमले आगामी दिनमा ग्यास आधा सिलिन्डर मात्र वितरण हुन सक्ने जानकारी दिए पनि अहिले बजारमा भने पूरा सिलिन्डर नै पाइरहेको व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार नयाँ ग्यास आएपछि भने आधा सिलिन्डर मात्र वितरण हुने सम्भावना रहेको छ।
व्यवसायीहरूका अनुसार पछिल्लो समय ग्यास किन्न आउने उपभोक्ताको संख्या उल्लेखनीय रूपमा बढेको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय र घोराही उपमहानगरपालिकाको बजार अनुगमन समितिले ग्यास बिक्री गर्दा ग्राहकको नाम र सम्पर्कसहित विवरण राखेर आवश्यकता भन्दा बढी नदिन व्यवसायीहरूलाई अनुरोध गरेको छ। कृत्रिम अभाव हुन नदिन उपभोक्ताले ग्यास सञ्चित (स्टक) गर्न नपाउने व्यवस्था गरिएको व्यवसायीहरूले बताएका छन्।
उपभोक्ताहरूले भने आवश्यक परेको समयमा सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। बजारमा ग्यास खोज्दै जाँदा डिलरकहाँ नाम टिपाउनुपर्ने र पछि पाइने–नपाइने निश्चित नभएको उनीहरूको भनाइ छ।
घोराही उपमहानगरपालिकाको बजार अनुगमन समितिका संयोजक मोहनसिंह सुनारले हाल आत्तिनुपर्ने अवस्था नरहेको बताए। उनका अनुसार वास्तविक अभावभन्दा पनि भविष्यमा ग्यास नपाइने हो कि भन्ने त्रासका कारण उपभोक्ताले बढी सञ्चित गर्न खोज्दा केही समस्या देखिएको हो। उनले कालोबजारी हुन नदिन र कृत्रिम अभाव सिर्जना हुन नदिन बजार अनुगमनलाई तीव्र बनाइएको जानकारी दिए।
यता, मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार आइतबारसम्म काँकडभिट्टा नाकाबाट दुई दिनमै ठूलो परिमाणमा इन्धन र ग्यास आयात भएको छ। कार्यालयका अनुसार दुई दिनमा १ हजार १ सय किलोलिटर पेट्रोल, ८ सय २१ किलोलिटर डिजेल तथा १ लाख ४१ हजार किलो एलपीजी ग्यास नेपाल भित्रिएको छ।
त्यसैगरी सोही अवधिमा ठूलो मात्रामा हवाई इन्धन र मट्टीतेलसमेत आयात गरिएको मेची भन्सार कार्यालयले जनाएको छ। भारतबाट आयात हुने पेट्रोलियम पदार्थ काँकडभिट्टा नाका हुँदै नियमित रूपमा नेपाल भित्रिने क्रम जारी रहेको प्रमुख न्यौपानेले बताए।


