— सुरेशकुमार पाण्डे
लघुकथा : प्रोपकार
“ओहो, तिमी यहाँ ? के भयो ?”
धनसिंहले प्रहरी खोरमा मनबहादुरलाई देखेर सोध्यो।
मनबहादुर लाजले झुक्किएझैँ भयो । उसले धनसिंहलाई देख्नेबित्तिकै अनुहार छोप्यो र कुनामा गएर बस्यो।
धनसिंह यही प्रहरी कार्यालयमा कार्यरत हवलदार थियो । ऊ प्रायः मनबहादुरको पसलमा जाने गर्थ्यो।
“के भनूँ… मेरो कर्म नै खोटो रहेछ,” मनबहादुरले रुन्चे स्वरमा भन्यो।
“के भएको हो, साफ–साफ भन न । मैले केही गर्न सकिन्छ कि ?” धनसिंहले फेरि सोध्यो।
“एक दिन शिवानी आएर भनिन्, ‘मलाई कामको खाँचो छ । कतै काम लगाइदिनुहोस् सर।’ उसलाई देखेर मलाई आफ्नै छोरीजस्तै लाग्यो । मलाई पनि पसलमा एउटा कामदार चाहिएको थियो । त्यसैले काममा राखेँ तर…”
मनबहादुर भावुक भयो । ऊ अगाडि बोल्न सकेन।
“फेरि के भयो त ? उसलाई कुनै दुर्घटना भयो ?”
धनसिंहले चिन्तित हुँदै सोध्यो।
“हजुरले मलाई सधैं ‘नचिनेकालाई झट्टै विश्वास नगर्नु’ भनेर सम्झाउनु हुन्थ्यो नि… मैले ठट्टामै उडाइदिएँ । आज त्यसैको परिणाम भोग्दै छु,” मनबहादुरले गहभरि आँसु पार्दै भन्यो।
“आखिर भयो के ?”
धनसिंहले सटिक रूपमा सोध्यो।
“केही दिनअघि उसले मलाई जिस्कायो भनेर प्रहरीमा उजुरी गरिछ । प्रहरीले मलाई बोलायो… अनि यही खोरमा ल्याइपुर्यायो,”
मनबहादुरले आफ्ना पीडा पोख्यो।
दाङ, घोराही–१८
२४/०२/२०२६ (१२/११/२०८२)


