सुरेशकुमार पाण्डेका ५ लघुकथाहरू

लघुकथा : दाग

“यसै हुन्छ भनेर मैले त पहिल्यै भनेकी थिएँ!” सपनाले रिसाउँदै भनिन्।
“मलाई के थाहा आज छुट्टी हुन्छ भनेर!” निमरामले निधारमा हत्थकेलो बजार्दै भने।

“सुन्‍नुहोस् बुढा! राम्रो काममा निस्कँदा साइत पनि मिल्नुपर्छ। बिहानै घरबाट निस्कँदा कालो बिरालोले बाटो काट्यो, त्यही बेला नजाऔँ भनेकी थिएँ। मेरो कुरा कहिल्यै मान्नु हुँदैन, त्यसैको परिणाम हो यो दुःख!”

निमराम मुस्कुराए, “तिमी पनि! त्यो पुरानो सोच कहिले जाने? सरकारी छुट्टी हुनुमा बिरालोको के दोष?”

सपनाले झन् रिसाउँदै झोला उठाइन्, “हिँड्नुस् अब, ढिलो भयो भने साधन पनि पाइँदैन।”

त्यही बेला एक अपरिचितले सोध्यो, “के काम थियो?”
“मालपोतमा काम थियो, तर आज छुट्टी रहेछ,” निमरामले भने।

ती व्यक्ति मुस्कुराए, “म नै हाकिम हुँ। नजिकै बस्छु, कागज देऊ।”

कार्यालय खोलेर उनले सही गरिदिए।

निमराम सपनातर्फ फर्किए—
“हेर्नु, दाग बिरालोमा होइन, हाम्रो सोचमा रहेछ।”


लघुकथा : नमरेको लाश

“म भोकै मर्छु, तर विदेश जाँदिन!” शेरे अडिग थियो।

बहादुरले सम्झाए, “हाम्रो पुर्खादेखि विदेशमै काम गरेका हुन्। मैले पनि जीवनभर सेवा गरें। तैंले किन नमान्ने?”

शेरे गम्भीर भयो, “बाबा, तपाईँले यत्रो जीवन विदेशमा बिताएर के पाउनुभयो? के हामी सधैं अरूको सेवा गरेरै बाँच्नुपर्छ?”

बहादुरले गर्वका साथ भने, “हाम्रो बहादुरीकै कारण हामी ‘बहादुर’ कहलिएका हौं। तेरो नाम पनि त्यसै कारण राखेको।”

शेरेले कोदाली समात्यो, “मान्छे मरेपछि लाश बन्छ, तर हाम्रो परिवार त नमर्दै लाश बनेर बाँचेको रहेछ। म त्यो जीवन जिउँदिन।”

ऊ बारीतर्फ लाग्यो—
पहिलोपटक आफ्नै माटो रोज्दै।


लघुकथा : सन्देश

“आज होली खेल्न जानु भएन?” सकिलाले सोधिन्।
“जाँगरै छैन,” रहमले उदास हुँदै भने।

“पहिले त दिनभर खेल्नुहुन्थ्यो नि!”

रहमले सम्झिए, “मेला–पर्व खुशी बाँड्ने हो, झगडा गर्ने होइन। पोहोर दिपुसँग झगडा भयो, त्यसपछि मन नै मर्यो।”

सकिलाले सम्झाइन्, “सबै दिपुजस्ता हुँदैनन्। ऊ पनि दुःखमा थियो होला।”

त्यही बेला ढोकामा आवाज आयो—
“कससँग बोलचाल छैन?”

दिपु रङको पोका बोकेर उभिएको थियो।
उसले रहमलाई अँगालो हाल्यो।

रङसँगै पुरानो रिस पनि पखालियो—
होलीले फेरि सन्देश दियो।


लघुकथा : शत्रु

“धने विदेश जान्छु भन्छ,” तुलसी चिन्तित थिए।

मित्रमणीले भने, “यतै लगानी गरे रोजगार मिल्छ। किन विदेश?”

तुलसीले सुस्केरा हाले, “पैसा छैन। ऋणमाथि ऋण छ।”

“दाजुले सहयोग गर्लान् नि?”

तुलसीको अनुहार अँध्यारो भयो, “एउटा सानो जग्गाको कारण सम्बन्ध टुट्यो। उनले उल्टै हकारे।”

मित्रमणीले टाउको हल्लाए, “पैसाको मुखै कालो हुँदो रहेछ।”

तुलसी चुप लागे—
उनी बुझ्दै थिए,
साँचो शत्रु मान्छे होइन,
लोभ र पैसाको मोह रहेछ।


लघुकथा : खुशी

“यार, किन यति उदास?” अमरले सोध्यो।

विनयले भन्यो, “म खुशी खोज्दै हिँडेको छु।”

अमर हाँस्यो, “खुशी पनि कतै बाहिर खोजिन्छ र? मनमै हुन्छ।”

विनय मुस्कुरायो, “मनले नै खोज्न बाध्य बनाउँछ।”

केही बेरपछि ऊ फर्केर आयो, “कतै तैंले देखिनस् हाम्रो खुशी?”

अमर झर्कियो, “तेरो खुशी मैले कसरी देख्छु?”

विनयले हात जोड्दै भन्यो, “माफ गर, तैंले बुझिनस्।”

“के?”

विनय हाँस्यो—
“खुशी त हाम्रो कुकुरको नाम हो, हिजोदेखि हराएको छ।”

अमर टोलायो,
र पहिलोपटक बुझ्यो—
कहिलेकाहीँ ‘खुशी’ साँच्चै खोज्नैपर्छ।

–सुरेशकुमार पाण्डे 

 घोराही-१८, दाङ

प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस