लघुकथा : पापी पेट (सुरेशकुमार पाण्डे)

लघुकथा : पापी पेट

— सुरेशकुमार पाण्डे

“सुन्दर, आज त अर्कै पार्टी समातेछौ नि तिमीले?” — एउटा पार्टीको प्रचारमा झण्डा उठाएर हिँडिरहेको देखेर दामोदरले सोध्यो।

“मेरो लागि त सबै राष्ट्रिय पार्टी बराबर हुन्, दाजु,” — सुन्दरले मुस्कुराउँदै भन्यो।

“तर त्यो त राम्रो हुँदैन। तीन दिनमै तीनवटै फरक–फरक पार्टीको झण्डा उठाउँदा तिमीलाई कसैले केही भनेनन् त?” — दामोदरले नाकमुख खुम्च्याउँदै सोध्यो।

“हा… हा…! कसले के भन्ने? झन् स्याबासी नै दिन्छन्,” — सुन्दर जोडले हाँस्यो। ऊ अत्यन्तै कालो रङको भएकाले सायद उपहासकै रूपमा सानैदेखि सबैले उसलाई ‘सुन्दर’ भन्थे।

“बरु झण्डा छोप्नै परे पनि कुनै राम्रो पार्टीको छोप्नुपर्छ। एउटै पार्टी समातेपछि कहिल्यै न कहिल्यै जितिहाल्यो भने तँलाई कतै व्यवस्था मिलाइदिन्छन्। यसरी दिनदिनै फरक–फरक पार्टीको झण्डा छोपेर तँलाई के फाइदा हुन्छ?” — दामोदरले सुझावसहित प्रश्न गर्‍यो। ऊ एउटा खुट्टाले अपाङ्ग थियो। बजारमा मागेरै पेट पाल्थ्यो।

“माई बाफ! एउटै पार्टीमा बसेको थिएँ धेरै दिन। पछि ‘काम गरेर खा’ भन्दै अरूले खाएको भाँडा माझ्न लगाए। त्यसैले त्यो पार्टी छोडेर यो पेसा समातेको हुँ,” — सुन्दरले मलिन हुँदै भन्यो।

“यस्तो पनि पेसा हुन्छ त?” — दामोदरले आश्चर्य प्रकट गर्दै सोध्यो।

“किन नहुने? आज उनीहरूकै, भोलि हाम्रै। ‘आइज, तँलाई पेटभरि खान र केही दाम पनि दिन्छु’ भनेर बोलाउँछन्। यही सिजनमा कमाएपछि पछि बसेर खान पाइन्छ,” — सुन्दर अगाडि बढ्दै भन्यो।

दाङ, घोराही–१८                

२७–०२–२०२६ (१५–११–२०८२)

प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस