गजलकार मनोज थापा मगरको एकल रचना वाचन घोराहीमा सम्पन्न

घाेराही, चैत्र २७ । राप्ती साहित्य परिषद् दाङ शाखाले सञ्चालन गर्दै आएको नियमित मासिक रचना वाचन कार्यक्रमअन्तर्गत गजलकार मनोज थापा मगरको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ। परिषद्को ८४औँ शृङ्खलाका रूपमा आयोजित उक्त कार्यक्रम शुक्रबार परिषद्को सभाहलमा आयोजना गरिएको हो।

घोराहीमा सम्पन्न कार्यक्रममा थापाले समसामयिक सन्दर्भ, प्रेमभाव, वैदेशिक रोजगारीका असर तथा सामाजिक विविध पक्ष समेटिएका करिब डेढ दर्जन गजल प्रस्तुत गरेका थिए। उनका सिर्जनामा समाजको यथार्थ, युवा पुस्ताको सोच र वर्तमान परिवेशको प्रभाव स्पष्ट रूपमा प्रतिबिम्बित भएको देखिएको थियो।

कार्यक्रम परिषद्का दाङ शाखा अध्यक्ष यम रेग्मीको अध्यक्षतामा तथा केन्द्रीय पूर्वअध्यक्ष एवं सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, रुकुम पूर्वका पूर्व अध्यक्ष कमानसिंह विष्ट, लेखक संघका वडा अध्यक्ष खगराज न्यौपाने लगायतले मन्तव्य राख्दै थापाको सिर्जनात्मक क्षमताको उच्च मूल्याङ्कन गरेका थिए।

वक्ताहरूले साहित्य समाज रूपान्तरणको सशक्त माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको सुरुआत दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन परिषद्का सदस्य विना रोकाले गरेकी थिइन्। कार्यक्रममा साहित्यप्रेमी तथा स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस