गजल
भए पनि विदेशमा जनताको लास, खुसी हुने,
सरकारमा बस्न पाए बने पनि दास, खुसी हुने।
कस्तो जात भएका नेपाली वीर संसारका,
घाइतेहरूभन्दा पनि स्याबास, खुसी हुने।
छैन मानो, छैन छानो, विदेशकै भरमा छाक टर्छ,
जीवनभरि दुःखकै भए पनि रास, खुसी हुने।
स्वाभिमानी, विश्वका बहादुर जात हौं हामी,
किन दुश्मनकै कारण पनि उपहास, खुसी हुने?
साम्राज्यवादले मिठो विष बोकेर आएकै छ,
नेताहरूलाई त्यसैमा पनि तमास, खुसी हुने।
युवाविहीन बनायो देश, फैलायो जाल यहाँ,
यहीँ बसेर देशकै सत्यानाश, खुसी हुने।
— सुरेशकुमार पाण्डे
दाङ, घोराही उपमहानगरपालिका-१८
(२३–०२–२०२६)
प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते बुधवार


