राेल्पा, परिवर्तन गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन सम्पन्न

राेल्पा, बैशाख ४ । परिवर्तन गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन सम्पन्न भएको छ। परिवर्तन गाउँपालिकाको आर्थिक सहयोग तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बिहीबार शहीद स्मृति रंगशाला, धामाचौरमा प्रतियोगिताको उद्घाटन गरिएको हो।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सुरु भएको उद्घाटन कार्यक्रमको अध्यक्षता परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गगन बुढा मगरले गर्नुभएको थियो भने परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगर प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रेनी र प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य दिपेन्द्रकुमार डाँगी, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य भिमप्रकाश पुन, वडा अध्यक्षहरू, प्रदेश रेफ्री, गाउँपालिकाभित्रका १२ वटा विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, युवा क्लबका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा कलाकारहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रम परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव ललितकुमार बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको थियो। प्रतियोगितामा १२ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले विभिन्न खेलमा सहभागिता जनाएका छन्। उक्त रनिङ शिल्ड प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य लोकचन्द्र डाँगीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस