काठमाडौं, २५ जेठ । नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर संसद्मा जारी विवादका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री तत्काल संसद्मा उपस्थित हुन नसक्ने बताएका छन्। सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले यस्तो धारणा राखेका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने अडान दोहोर्याएपछि लामिछानेले तत्काल त्यो सम्भव नरहेको जानकारी गराएका हुन्। उनका अनुसार विषयमा प्रारम्भिक जवाफ परराष्ट्रमन्त्रीमार्फत आउनेछ।
लामिछानेले आवश्यकता परेमा आफूले समेत धारणा राख्न सक्ने बताए पनि प्रधानमन्त्री तत्काल संसद्मा उपस्थित हुने अवस्था नरहेको स्पष्ट पारे। तर विपक्षी दलहरूले भने प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने मागबाट पछि नहट्ने बताएका छन्।
विपक्षी सांसदहरूले सीमासम्बन्धी विषय राष्ट्रिय स्वाधीनता र कूटनीतिक संवेदनशीलतासँग जोडिएकाले प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने बताएका छन्। उनीहरूले विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन समेत माग गरेका छन्।
यस विषयलाई लिएर सत्ता र प्रतिपक्षबीच सहमति हुन नसक्दा संसद्को नियमित कामकारबाही प्रभावित हुँदै गएको छ। आगामी बैठकमा समेत यही विषय मुख्य एजेन्डा बन्ने देखिएको छ।


