दाङ, २५ जेठ । दाङ जिल्लाका विभिन्न खोला तथा नदी क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने सवारी साधनमाथि प्रहरीले व्यापक कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त टोलीले सोमबार विभिन्न स्थानमा अनुगमन तथा निगरानी अभियान सञ्चालन गरी नौ वटा सवारी साधन नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा परेका सवारी साधनमा तीन वटा स्काभेटर (जेसीबी), दुई वटा टिप्पर र चार वटा ट्र्याक्टर रहेका छन्। ती सवारी साधनहरू ढुङ्गा, गिट्टी तथा बालुवा जस्ता नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा ढुवानीमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ। कारबाही प्रक्रियापछि ती सवारी साधनबाट कुल पाँच लाख १५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।
प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले वातावरणीय सन्तुलन बिगार्ने, नदीको बहाव परिवर्तन गर्ने तथा विपद्को जोखिम बढाउने भएकाले प्रहरीले यस्ता गतिविधिविरुद्ध निगरानीलाई थप प्रभावकारी बनाएको जनाएको छ।
प्रहरीले आगामी दिनमा पनि अवैध उत्खनन तथा नदीजन्य पदार्थको गैरकानुनी कारोबार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने जनाएको छ। सम्बन्धित निकायसँगको समन्वयमा यस्ता कार्यमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।


