घाेराही, चैत्र १० । दाङको घोराही–१४ स्थित एग्रोमार्टमा यतिबेला स्ट्रबेरी खेतीसँगै आन्तरिक पर्यटकको आकर्षण पनि उल्लेखनीय रूपमा बढेको छ। बारीबाट टिपिएका राताम्य स्ट्रबेरीहरू टोकरीमा संकलन गरी अफिससम्म ल्याइन्छ भने त्यहाँ कामदारहरूले प्याकेजिङ र बिक्रीको काम गरिरहेका देखिन्छन्। सञ्चालक वीरेन्द्र खड्काको टोलीले ग्राहकलाई ताजा स्ट्रबेरी उपलब्ध गराउँदै आएको छ।
बारीको गतिविधि निगरानी गर्न सिसी क्यामराको प्रयोग गरिएको छ। आगन्तुकहरू समूहमा बारीमा प्रवेश गरी फोटो खिच्ने र भिडियो बनाउनेमा व्यस्त रहने गरेका छन्। प्राकृतिक सौन्दर्य र स्ट्रबेरीको आकर्षणले धेरैलाई लोभ्याउने गरेको देखिन्छ।
यद्यपि, बारीमा छिरेर मनलाग्दी स्ट्रबेरी टिपेर खाने अनुमति छैन। फोटो तथा भिडियो खिच्न भने अनुमति लिएर सीमित क्षेत्रभित्र मात्रै प्रवेश गर्न पाइन्छ। सञ्चालक खड्काका अनुसार यसले बोटबिरुवामा केही असर परे पनि ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो।
तीन महिनाअघि सुरु भएको स्ट्रबेरी पाक्ने समय वैशाख मध्यसम्म रहने अपेक्षा गरिएको छ। हाल बारीमा नयाँ फलसँगै फूल पनि देखिन थालेका छन्। चैत महिनाको वर्षाले सुरुवातमा केही चुनौती ल्याए पनि त्यसले बोटलाई आवश्यक पानी उपलब्ध गराएको र उत्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
यस क्षेत्रमा स्ट्रबेरी खेती सुरु गरिएको यो तेस्रो वर्ष हो। ग्यामरोजा र विन्टर डाउन जातका स्ट्रबेरी लगाइएको छ, जसमा एक जात नुवाकोटको ककनीबाट र अर्को भारतबाट ल्याइएको हो। गुणस्तर कायम राख्न प्रत्येक वर्ष बिरुवा परिवर्तन गर्ने गरिएको छ।

हाल बारीमा दैनिक ८ देखि १० जनाले रोजगारी पाएका छन्। मल्चिङ प्रविधि अपनाइएकाले झारपात कम उम्रिने र गोडमेलको आवश्यकता पनि न्यून रहेको छ। बजारमा स्ट्रबेरीको मूल्य प्रतिकिलो करिब ७ सय रुपैयाँ रहेको छ।

उत्पादित स्ट्रबेरी पोखरा, बुटवल र नेपालगञ्जसम्म पठाइँदै आएको छ। बिक्रीमा कुनै समस्या नभएको र आगामी वर्षदेखि अनलाइन अर्डर प्रणाली सुरु गर्ने योजना रहेको सञ्चालकले जानकारी दिएका छन्।
अर्का सञ्चालक वीरेन्द्र वलीका अनुसार दैनिक ठूलो सङ्ख्यामा आगन्तुकहरू बारीमा पुगेर फोटो तथा भिडियो बनाउने गरेका छन्। ग्राहकको मनोरञ्जनलाई ध्यानमा राख्दै बारीमा सीमित पहुँच खुला गरिएको उनले बताए।


