भोलिको मतदानका लागि तयारी अन्तिम चरणमा

काठमाडौँ, २० फागुन । भोलि हुने मतदानका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार छिटपुट कामबाहेक सबैजसो तयारी सम्पन्न भइसकेको छ। निर्वाचन सुरक्षार्थ परिचालन गरिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाराष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा टोली ७७ वटै जिल्लाका मतदान केन्द्रमा परिचालन गरिएको छ।

सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेका छन्। बुथ निर्माण, सामग्री व्यवस्थापन तथा सर्वदलीय समन्वयका काम भइरहेका छन्। हिमाली जिल्ला डोल्पाका २० र हुम्लाका ४ गरी २४ दुर्गम स्थानमा हेलिकोप्टरमार्फत सामग्री ढुवानी गरिएको छ।

दुर्गम क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मीसमेत खटिसकेका छन्। निर्वाचनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण बनाउन प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म सर्वदलीय बैठक सम्पन्न भइसकेका छन्। सुरक्षा निकायका अनुसार हालसम्म निर्वाचन बिथोल्ने प्रयासमा संलग्न १ सय ७६ जनालाई पक्राउ गरिएको छ। केही स्थानमा नक्कली तथा शंकास्पद वस्तु फेला परे पनि सुरक्षा संयन्त्रले ती वस्तु निष्क्रिय पारेको छ।

निर्वाचन आयोगले सवारी पासको दुरुपयोग नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने जनाएको छ। सार्वजनिक बिदाका कारण वित्तीय सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले निर्वाचन अवधिभर आवश्यक बैंकिङ सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ।

समग्रमा सुरक्षा, प्रशासनिक समन्वय, सामग्री व्यवस्थापन तथा अनुकूल मौसमका कारण निर्वाचनको तयारी लगभग पूरा भएको छ। मौसमविद्का अनुसार मतदानका दिन ठूलो प्रभाव पार्ने खालको मौसम परिवर्तनको सम्भावना छैन। भोलि वर्षा हुने सम्भावना नरहेको जनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भए पनि समग्रमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। निर्वाचन आयोगले ढुक्क भई मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ। यसपटक कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रको व्यवस्था गरेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ। साथै, वृद्धवृद्धा, सुत्केरी, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस