मतदानअघि ४८ घण्टादेखि विशेष आचारसंहिता लागू

दाङ, फागुन १७ । निर्वाचन आयोग, नेपालले मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष आचारसंहिता अनिवार्य रूपमा पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

आयोगका अनुसार उक्त अवधिमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रचार–प्रसार कार्य पूर्ण रूपमा निषेध गरिनेछ। कुनै पनि प्रकारका सभा, जुलुस, नाराबाजी, घरदैलो कार्यक्रम तथा अन्य प्रचार गतिविधि गर्न पाइने छैन।

त्यसैगरी भोजभतेर, मदिरा सेवन तथा वितरणमा पनि रोक लगाइएको छ। सामाजिक सञ्जालमार्फत निर्वाचन प्रचार गर्ने, गलत सूचना फैलाउने वा मतदातालाई प्रभाव पार्ने सामग्री प्रकाशन तथा प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ।

आयोगले मतदान प्रक्रियामा बाधा पुग्ने कुनै पनि गतिविधि नगर्न, मतदान केन्द्र आसपास शान्ति र मर्यादा कायम राख्न तथा उत्तेजक अभिव्यक्ति वा क्रियाकलापबाट टाढा रहन सबैलाई अनुरोध गरेको छ।

राजनीतिक दल तथा उम्मेदवारका पोस्टर, पर्चा, ब्यानरलगायत प्रचार सामग्री मतदान हुनुभन्दा ४८ घण्टा अगावै हटाइसक्नुपर्ने व्यवस्था गरिएको छ। साथै, मतदान केन्द्र नजिक कुनै पनि प्रकारका प्रचार सामग्री राख्न पाइने छैन।

निर्वाचन आयोगले सबै नागरिकलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न अपिल गरेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस