दाङ, फागुन १७ । निर्वाचन आयोग, नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदानका दिन अनुमति नलिई कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने स्पष्ट गरेको छ।
आयोगका अनुसार मतदानको दिन शान्ति, सुरक्षा तथा निष्पक्ष मतदान सुनिश्चित गर्न अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनको आवागमनमा रोक लगाइनेछ। अनुमति नलिई कुनै पनि निजी वा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
आयोगले उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, राष्ट्रिय सूचना आयोगका पदाधिकारी, पर्यवेक्षक, कूटनीतिक नियोग, संयुक्त राष्ट्र संघका नियोग, सञ्चार माध्यम, हवाई उडान तथा अध्यागमन र भन्सारसम्बन्धी कार्यालय, विदेशी पर्यटक, अनुगमनकर्ता, अन्तर्राष्ट्रिय संघसंस्था, विशिष्ट अतिथि तथा आयोगले तोकेका अन्य निकायका पदाधिकारी तथा व्यक्तिलाई सवारीसाधन सञ्चालनका लागि अनुमति प्रदान गरिने जनाएको छ।
यसैगरी एम्बुलेन्स, खानेपानीका ट्यांकर, दूध ढुवानी गर्ने सवारीसाधन, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युत सेवा लगायत अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनले भने अनुमतिपत्र लिनु नपर्ने आयोगले जनाएको छ।
आयोगले सर्वसाधारणलाई तोकिएका नियमको पालना गर्दै शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।


