घोराही, फागुन १५ । नेपाली कम्युनिस्ट पार्टीका दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार निर्मल आचार्यले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।
घोराहीमा शुक्रवार आयोजित कार्यक्रममा ‘सुशासन र रोजगारी, समाजवादको तयारी : राष्ट्रिय लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने केन्द्रीय नारासहित पार्टीले यसपटक देशभर कसैसँग पनि गठबन्धन नगरी निर्वाचनमा सहभागी भएको नारा सहित प्रतिबद्दता पत्र सार्वजनिक गरेकाे हाे ।
कार्यक्रममा प्रतिबद्दता पत्र सार्वजनिक गर्दै उम्मेदवार आचार्यले पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउने उद्देश्यसहित निर्वाचनमा होमिएको बताउँदै नेपाली जनताले पार्टीलाई प्रगतिशील, वामपन्थी तथा कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूको मूल प्रवाहका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो।
त्यस्तै उहाँले सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा दाङ क्षेत्र नं. २ लाई सम्भावना, स्रोतसाधन र ऊर्जाले भरिएको क्षेत्रका रूपमा विकास गर्न उर्वर कृषि क्षेत्र, युवा जनशक्ति, शैक्षिक तथा स्वास्थ्य पूर्वाधार, सांस्कृतिक विविधता र प्राकृतिक सम्पदाको योजनाबद्ध उपयोग गरिने बाचा गर्नु भएकाे हाे । विकास नारामा होइन, परिणाममा देखिनुपर्ने र सुशासन कागजमा होइन, जनताको अनुभूतिमा स्थापित हुनुपर्ने समेत उहाँकाे भनाइ रहेकाे थियाे ।
‘सुशासन, सामाजिक न्याय र समृद्ध दाङ’ साझा अभियानमार्फत सेवा प्रवाहलाई सरल, पारदर्शी र उत्तरदायी बनाइने तथा राज्य र जनताबीचको दूरी घटाइने प्रतिबद्धता जनाउँदै आचार्यले यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई दाङको भविष्य निर्माण गर्ने अवसर भएको बताउनुभयो।
सामान्यतया २०८४ मा हुनुपर्ने आमनिर्वाचनभन्दा अगाडि, विशिष्ट राजनीतिक अवस्थाका कारण २०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुन गइरहेको उल्लेख गर्दै उक्त निर्वाचनमा तारा चिन्हमा मतदान गर्न उहाँले मतदातालाई आग्रह समेत गर्नुभयो।
शुक्रवार सम्पन्न उक्त कार्यक्रमा दाङ क्षेत्र नं. २ का उम्मेद्वार निर्मल आचार्य सहित समानुपातिक उम्मेद्वार भिम कुमारी बुढा मगर, सस्मती चाैधरी र जिल्लामा क्रियाशिल पत्रकारहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।


