
घाेराही, फागुन १४ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार निर्मल आचार्यले आफ्नो जित सुनिश्चित देखिएपछि विपक्षीहरू अतालिएको आरोप लगाएका छन्।
उनले आफ्नो पक्षमा बढ्दो जनसमर्थनका कारण विभिन्न दल र उम्मेदवारले हल्ला तथा कुप्रचार फैलाइरहेको बताएका छन्। केही दलले कहिले नेकपा एमाले त कहिले नेपाली कांग्रेसलाई जिताउने दाउमा लागेको भन्ने भ्रम सिर्जना गर्दै मतदातामा निराशा फैलाउने प्रयास भइरहेको उनको भनाइ छ।
आचार्यले यस्ता हल्लाको पछि नलाग्न कार्यकर्ता तथा मतदातालाई आग्रह गर्दै सचेत र विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन्। “हाम्रो जित सुशासन, पारदर्शिता र जनताको पक्षमा लिएको अडानको परिणाम हो,” उनले भने।
उनका अनुसार नेकपाको जित वर्तमान सरकार प्रमुख पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले अघि बढाएको सुशासन अभियानसँग जोडिएको छ। कुप्रचारको भरमा होइन, एजेन्डा र वर्गीय मुद्दाका आधारमा चुनाव जित्ने आफ्नो दाबी रहेको उनले बताए। अन्य दलले जनताका वर्गीय चेतनाको स्वर उठाउन नसकेको आरोप लगाउँदै नेकपाले मात्रै श्रमिक, किसान र उत्पीडित समुदायको पक्षमा स्पष्ट कार्यक्रम अघि सारेको उनले उल्लेख गरे।
आचार्यले दाङका भूमिहीन समुदायको अधिकार सुनिश्चित गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। स्थानीय तहबाट जनताका मौलिक अधिकार कार्यान्वयनमा कमजोरी देखिएको उल्लेख गर्दै उनले ‘दाङ विकास प्राधिकरण’ गठन गरी जिल्लाको समग्र योजनाबद्ध विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कृषि तथा किसानको श्रमको उचित मूल्य सुनिश्चित गर्न सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनले उत्पादनको मूल्य निर्धारण राज्यले जिम्मेवारीका साथ लिनुपर्ने बताए। चुनावलाई रक्सी र मासुको प्रलोभनसँग जोडेर जित्ने संस्कारको अन्त्य हुनुपर्नेमा पनि उनले जोड दिए।
अन्त्यमा, आचार्यले मतदातालाई भ्रम र कुप्रचारबाट टाढा रही विकास, सुशासन र अधिकारका एजेन्डामा मतदान गर्न आह्वान गरेका छन्।

