प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते: मतदान गर्ने सही तरिका सार्वजनिक

काठमाडौं — निर्वाचन आयोग, नेपालले नेपाल मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गर्ने सही तरिकासम्बन्धी जानकारीसहितको जनचेतनामूलक पोस्टर सार्वजनिक गरेको छ। आयोगका अनुसार आगामी फागुन २१ गते, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान समय तोकिएको छ।

पोस्टरमा मतदाताले मतदान गर्दा अपनाउनुपर्ने प्रक्रिया दुई चरणमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।

प्रत्यक्षतर्फ (चरण–१)
प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत मतदाताले सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह छापिएको पहिलो मतपत्र लिनुपर्नेछ। गोप्य मतदान कक्षमा प्रवेश गरी आफूले रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाउनुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि उक्त मतपत्र सेतो पृष्ठभूमिमा रातो रङले ‘१’ लेखिएको स्टिकर टाँसिएको मतपेटिकामा खसाल्नुपर्नेछ।

समानुपातिकतर्फ (चरण–२)
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदाताले सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह छापिएको दोस्रो मतपत्र लिनुपर्नेछ। गोप्य मतदान कक्षमा गई आफूले रोजेको राजनीतिक दलको चिन्हमा स्वस्तिक छाप लगाई सो मतपत्र सेतो पृष्ठभूमिमा कालो रङले ‘२’ लेखिएको स्टिकर टाँसिएको मतपेटिकामा खसाल्नुपर्नेछ।

आयोगले मतदातालाई सही तरिकाले मतदान गरी आफ्नो अमूल्य मतको सदुपयोग गर्न आग्रह गरेको छ। मतदान प्रक्रियामा हुने त्रुटि न्यूनीकरण गर्न तथा बदर मत कम गर्न यस्ता सूचनामूलक सामग्री सार्वजनिक गरिएको आयोगको भनाइ छ।

आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षलाई सहयोग गर्न पनि आयोगले अपिल गरेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस