The Voice Of Nepal season-7 को उपाधि निता कुमारी मगरलाई

काठमाडौं, फागुन ६ । नेपालको चर्चित लोकप्रिय गायन रियालिटी शो The Voice of Nepal सिजन ७ को उपाधि निता कुमारी मगर ले हात पार्न सफल भएकी छन् । लोकदोहोरी विधाबाट प्रतिस्पर्धामा सहभागी निताले मौलिक स्वर, सशक्त प्रस्तुति र निरन्तर मेहनतका आधारमा विजेता बन्ने सफलता हासिल गरेकी हुन् ।

उनी राजु लामा को टिमबाट प्रतियोगितामा सहभागी हुँदै अन्तिम चरणसम्मको यात्रा तय गरेकी थिइन् । कोच लामाे मार्गदर्शन, प्रशिक्षण र प्रस्तुति रणनीतिले निताको गायन अझ परिष्कृत र प्रभावशाली बन्दै गएको दर्शकहरूले महसुस गरेका थिए । फाइनल चरणमा प्रस्तुत उत्कृष्ट गायनका आधारमा उनले उपाधि जितेकी हुन् ।

निताको जितसँगै सिजन ७ विशेष र ऐतिहासिक बनेको छ । लोकदोहोरी विधाबाट राष्ट्रियस्तरको रियालिटी शोको विजेता बन्नु उनको व्यक्तिगत उपलब्धि मात्र नभई समग्र नेपाली लोकसंगीत क्षेत्रकै गौरवका रूपमा लिइएको छ ।

विजेता घोषणा भएपछि निताले दर्शक, शुभचिन्तक, परिवार तथा समर्थकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा गीत–संगीत क्षेत्रमा अझ समर्पित भएर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् ।

उनको यस सफलताले कर्णाली प्रदेश सहित देशभरका संगीतप्रेमीहरूमा थप उत्साह पैदा गरेको छ । अब निताबाट भविष्यमा अझ उत्कृष्ट लोकदोहोरी तथा आधुनिक गीतहरू आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस