नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता, लुम्बिनी लायन्स पराजित

काठमाडौं । आन्द्रेस गौसको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको दोस्रो खेलमा पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित दर्ता गरेको हो ।

लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विनाविकेटको क्षतिमा पूरा गरेको हो । यसरी एनपीएलमा १० विकेटको जित हात पार्ने पोखरा पहिलो टोली हो । पोखराका लागि ओपनरका रुपमा आएका अमेरिकी स्टार आन्द्रेसले ५४ बलमै शतक प्रहार गरेका हुन् । उनी एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । अविजित ५५ बल खेलेका उनले १द्द चौका र ५ छक्काको मदतमा १०४ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए । टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए । लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्दले शून्य रनमा आउट भए । यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त गर्यो ।

बलिङतर्फ पोखराका लागि विपीन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारे ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस