काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा चितवन राइनोजमाथि रोमाञ्चक जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको हो ।
लगातार दुई खेलमा पराजित कर्णालीको यो पहिलो जित हो । पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौंसँग कर्णाली पराजित भएको थियो । यता सुरुवाती २ खेलमा जित निकालेको चितवनको भने यो पहिलो हार हो । चितवनले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । अब चितवनको जितको श्रृंखलामा ब्रेक लागेको छ ।
चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रनको योगदान गरे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३० रन बनाएको थियो ।
चितवनका लागि रवि बोपारा अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतले ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपीन रावलले ११, जान निकोल लोफ्टी इटन र अमर रौतेलाले समान नौ÷नौ र दीपक बोहोराले आठ रनको योगदान दिए ।
शरद भेषावकरले अविजित रहँदै छ रन जोडे भने सोहेल तनवीर शून्य रनमा आउट हुन पुगे । चितवनले अतिरिक्त पाँच रन प्राप्त ग¥यो । कर्णाली याक्सका लागि विपीन शर्माले सर्वाधिक तीन विकेट लिए । कर्णालीका जिशान मकसूदले दुई, नन्दन यादव र कप्तान सोमपाल कामीले एक/एक विकेट हात पारे ।