टियु क्रिकेट मैदानमा चलिरहेको पाँचौ तथा निर्णायक खेल जित्न नेपालले १ सय ९२ रनको मध्यम लक्ष्य प्राप्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको ५ खेलको सिरिजमा आज अन्तिम खेल खेलिरहेको छ ।

टियु क्रिकेट मैदानमा चलिरहेको पाँचौ तथा निर्णायक खेल जित्न नेपालले १ सय ९२ रनको मध्यम लक्ष्य प्राप्त गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट हुँदै १ सय ९१ रन जोड्यो । कर्नाटकले सिरिजमा पहिलो पटक पूरा ५० ओभर खेलेको हो ।

टोलीका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन जोडे । अलराउन्डर इसा पुथिगेले ५६ बलमा नटआउट ३८ रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए । त्यसअघि ओपनर गगन रावले ३४ रन जोडेका थिए । इनिङको दोस्रो बलमै प्रतिकलाई नेपालका कप्तान हेमन्त धामीले बोल्ड गरेका थिए । त्यसपछि ऋषभ पाँचौ ओभरमा हेमन्तको एलबीडब्लु शिकार बने

गगन र शिवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाले । नेपालका लागि नरेन साउदले २ विकेट लिँदै खेलमा फर्काए । त्यसपछि रोहित र इसाले रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए । समग्रमा हेमन्तले ३ विकेट लिँदा अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले २-२ विकेट लिए ।

सिरिज २-२ को अवस्थामा रहेकोले आजको खेल जित्नेले सिरिज पनि जित्नेछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस