सल्यान,
देश विकासलाई चाहिने ज्ञान, सीप, र प्रतिभा लिएर एउटा व्यक्ति जन्मिन्छ । त्यो जन्मजात लिएर आएको चीजलाई प्रतिभालाई हाम्रो समाजले अझै थप बृद्धि गर्दै माझ्दै लाने वातावरण बनाउने कि उसको प्रतिभालाई यत्तिकै मर्न दिने ? उसको प्रतिभालाई मलजल गरेर देशलाई चिनाउने त छँदै छ संगै उसको त्यो क्षमतालाई सकारात्मक कार्यमा लगाई गाउँ समाजको सम्बृद्धिमा खर्च गर्ने कि ? हामीले थाहा पाए पनि थाहा नपाए जस्तो गरि हौसला उर्जा नदिएर साथ सपोर्ट नगरेर उसको प्रतिभालाई फोहोर मलाई भन्ने बाकसमा फ्याल्दिने ? म संग केही ज्ञान छ, म संग केही सीप छ गाउँ समाजलाई योगदान गर्न । म संग थोरै कला छ, थोरै भिजन छ देशलाई चिनाउने। मलाई विस्वास गर्नुहोस । मलाई काम गर्ने वातावरण बनाईदिनुस । मेरो आर्थिक अवस्था कमजोर छ मलाई मेरो आविस्कार परिक्षण गर्ने अवसर दिनुस । मलाई सहयोग गर्नुहोस यस्तै यस्तै भन्दै एक जना युवा आए भने तपार्ई के गर्नुहुन्छ ? स्थानिय सरकारले के गर्ला ? मैले कतै सुनेको थिएँ । धेरै दिन देखि भोकै भएको मान्छे छ भने उसलाई खान दिने र उसलाई भोकभोकै मर्न नदिने जिम्मेवारी सिडियोको हुन्छ रे । तर मैले माथि पृष्ठभुमीमा भने जस्तो एउटा युवा यसरी आयो भने यो कसको जिम्मेवारी हुन्छ होला ? अहिलेको विज्ञान र प्रविधिको चरम विकासको समयमा पनि संघीय सरकार संगको हाम्रो दुरी त लामो नै होला र पहुँच पनि पुग्दैन होला ? यसको मतलव स्थानिय सरकारको जिम्मेवारी होला त यो ? सोच्दै गर्नुहोस । अनि यति भन्दै गर्दा । यसले गर्नुपर्र्ने उसले गर्नुपर्ने भन्दै गर्दा तपाई हाम्रो जिम्मेवारी चैँ के? यानिवे …..
हजुर म कुरा गर्दैछु सल्यानका युवा वैज्ञानिक बिजय राना मगरको । सानै उमेर देखि जानी नजानी विज्ञान र प्रविधिका क्षेत्रका हानिएका बिजयको अहिले नेपालमै नभएको सिस्टममा आधारित एअर डुङ्गा चलाउने हुट्हुटी रहेको छ । दुई तिन महिना अगाडी नै शारदा नदीमा उनले भनेको एअर डुङ्गाको पाईलट टेस्ट पनि गरिसकेका छन् । सैद्धान्तिक पढाईमा त्यत्ति रुची नराख्ने उनी अहिले आफ्नो योजनालाई मुर्तरुप दिनका लागि विभिन्न ठाउँमा सहयोग रकम उठाउँदै हिँडिरहेका छन् भने उनको यो अभियानलाई साथ दिन आसपासका जिल्लाका विज्ञानमा रुची राख्ने साथीहरु पनि जोडिएको उनको भनाई छ ।
यही अभियानकै क्रममा उनी अहिले दाङको तुलसीपुरमा रहेका छन् । बुझ्नेले बुझेको हुन्छ ज्ञान अनि सीपको महत्व भने झैं तुलसीपुरका ज्ञानज्योति, हिमाल, सक्सेसिभ लगायतका ख्यातिप्राप्त स्कुल तथा कलेजले उनको ज्ञान सिपलाई भरपुर प्रयोग गरिरहेको छ । बिहान बेलुका दिउँसो उनी व्यस्त छन् । विद्यार्थीलाई सिकाउँछन् । तुलसीपुर दाङको टरिगाउँ एअरपोर्टमा प्लेन समेत बनाएर उडाईसकेका छन्, ज्ञानज्योतिमा ड्रोन उडिसकेको छ भने अन्य ड्रोन, पानी डुङ्गा, विद्युत वायरिङ् लगायत धेरै प्रोजेक्टमा विद्यार्थीलाई प्रत्यक्ष रुपमा गाईड गरिरहेका छन् । त्यसो त उनले गरेका आविस्कारहरुको लामै सुची छ । उनले के के बनाएका छन् ?
भन्नु भन्दा पनि के बनाएका छैनन् भन्दा उपयुक्त हुन्छ जस्तो लाग्छ । उनले बम, मिसाईल, जलविधुत, रकेट जस्ता धेरै प्रोजेक्ट हरु सफल परिक्षण गरीसकेका छन् । केही नयाँ चीज वस्तु देख्ने बित्तिकै के कसरी किन ? संग संगै आफुले कसरी बनाउन सकिन्छ भनेर फिल्डमा उत्रिहाल्ने बिजयले पूर्वको ईलाममा एउटा चिल्ड्रेन पार्कको लागि पानीजहाज र रोवर्ट बनाएर सबैलाई आश्चर्यचकित बनाएका थिए । त्यो बेलामा उनले सबैको ध्यानाकर्षित गरेका थिए ।
त्यै बेलामा हो उनलाई अलि ठुला मिडियाले कभरेज गरेको पनि र मैले चिनेको पनि । सल्यान घर रहेछ उनको । मैले थाहा पाएँ उनको बारेमा अलि बढि र सायद अरुले पनि नजिक बाट चिनेको पनि यै बेला बाट हुनुपर्छ । सल्यान घर। तपाईलाई अझै पनि पुर्व तिर काठमाण्डौ तिरकाले घर कहाँ हो? भनेर सोध्दा परिचय गर्दा सल्यान भन्दा प्रायले थाहा पाउँदैनन् । चिन्दैनन सल्यान जिल्लालाई । यो भोगाईमा उनको र मेरो एउटै रहेछ । दाङ संग सिमाना जोडिएको जिल्ला । ए त्यो दाङ देखि माथितिर क्या । दाङको नजिकै त छ भन्नुपर्ने अवस्था छ वाध्यता छ । कैलेकाहीँ त पढेलेखेका शिक्षित भनाउँदाहरुले पनि यस्तै जवाफ दिँदा । कमनसेन्स छैन ? सामान्य ज्ञान पनि छैन भनेर धेरैलाई आफ्नो सान बढाएको पनि छु मैले । नेपालमा कति वटा जिल्ला छन् ? त्यत्ति सम्म पनि थाहा छैन अहिले सम्म ? अरु के पढ्छौ ? त्यसो भए के का लागि घमण्ड गर्छौ यार । यस्तै भनेर जिस्काँउथे मैले ।
मैले यो किन जोड्न खोजेको भने उनी संग सल्यान चिनाउने सीप छ । सल्यान चिनाउने कला छ । विद्यार्थीलाई सिकाउने, आफुले गर्ने आफ्नै सुत्र छ उनको । आफ्नै फर्मुला छ उनको । उनले यस्तै मनोरञ्जन, कृषि, स्वास्थ्य, समाज संग सम्बन्धित तथा विद्यालय शिक्षालाई जोड्ने आविस्कारहरु गर्दै गए भने सल्यान मात्रै हैन नेपाललाई नै अन्तर्राष्ट्रिय रुपमा चिनाउने ल्याकत राख्न सक्छन् । आविस्कार तथा रोजगारीको क्रममा भारत र चिनको भ्रमण गरिसकेका उनी भन्छन् । सल्यान जिल्ला नै नचिन्ने भन्ने पनि हुन्छ त ? अब म मेरो आविस्कारले चिनाउँछु सल्यान जिल्लालाई । मैले आविस्कार गरेँ भने र गर्नको लागि सबैले साथ दिनुभयो भने म सक्छु आफ्नो क्षमता प्रदर्शन गर्न । जहाँ बाट सल्यानको नाम रोशन हुन्छ । मैले गरेको आविस्कार हेर्न धेरै ठाउँ बाट आउँनुहुन्छ र विस्तारै पर्यटकिय स्थलको रुपमा चिनाउन सकिन्छ ।
निराजन माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषय लिएर औपचारिक अध्ययन गर्दै गरेका बिजयको अहिलेको सपना भनेको सल्यानी एअर डुङ्गा चलाउने हो । विद्यालयका विद्यार्थी गई प्रयोगात्मक अध्ययन अनुसन्धान गर्ने साईन्स म्युजिएम बनाउने उनको भविष्यको ड्रिम प्रोजेक्ट त छँदै छ अहिलेको जल्दो बल्दो यो प्रोजेक्ट गर्न पाए केही हद सम्म सन्तुष्ट हुन्थे उनी भने अझै थप गर्ने हौसला प्रेरणा पनि मिल्थ्यो ।
मध्यम वर्गीय परिवार बाट प्रतिनिधित्व गर्ने बिजय यो सपनालाई साकार पार्न स्थानिय तथा प्रदेश तिरका कार्यालयमा नधाएका भने हैनन। उनका योजना र कार्यमा कस्को चासो र चिन्ता ? बरु हलानो फलानो पाटीका कुरा गरेर वास्तै गरेनन् । यसै क्रममा प्रयोगात्मक विज्ञानका ज्ञान, सीप, आविस्कार तथा उनको अभियानलाई सहयोग गर्ने उद्देश्य सहित जीवन ज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोेट ५ रिम सल्यानले श्रावण महिनाको दोस्रो अन्तिम दिनको अतिथि कक्षाको लागि अतिथिको रुपमा बिजय राना मगरलाई निमन्त्रणा गरेको थियो। उक्त क्लासमा आफ्ना बालापन, पढाई, अनुभव तथा आफ्ना योजनाहरु प्रस्फुटन गरेका थिए ।
विद्यार्थीहरुले उनका अनुभुतिहरु हाँसी हाँसी चाख लिँदै सुनेका थिए । बिजयका अनुसार फलाम नै फलामले बन्ने एअर डुङ्गा एक टनको हुनेछ भने यसको जम्मा जम्मी खर्च ४,५०,००० हुनेछ । यस्तो प्रकारको डुङ्गा अहिले सम्म नेपालमै नबनेको जिकिर गर्दै आफुले फरक बनाउने र उक्त डुङ्गा बनाउन ५०,००० ऋण लिएर शुरु गरेको बताए । साथै अहिले डुङ्गा बनाउने ईञ्जिन समेत भारत बाट ल्याईसकेको र अब १,४७,००० मात्रै अपुग रहेको बताएका छन् । उक्त क्लासमा उनको डुङ्गा चलाउने सपनालाई साकार पार्न विद्यार्थी तथा शिक्षक स्टाफहरुले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेका थिए । जसमध्ये विद्यार्थीहरुले ८,१८५, शिक्षक स्टाफहरुले १०,२९०, विद्यालयले २,५५० तथा अन्य बाट २,००५ गरि जम्मा २३,०३० सहयोग रकम विद्यालयले हस्ताण्तरण गरेको थियो । उक्त क्लासमा उनले एक एक हिसाब गरेको छु कसैको एक रुपैयाँ पनि खेर जाने छैन भनेर आफ्नो विस्वास व्यक्त गरेका थिए ।
तर उनलाई काम गर्ने वातावरण बनाउन आवश्यक छ पहिला । हामी आफूले पनि नगर्ने अनि अरुलाई पनि गर्न हौसला साथ सपोर्ट नगर्ने । अनि कसरी हुन्छ समाजको प्रगति ? कसरी हुन्छ देशको उन्नति । कसरी हुन्छ जनशक्तिको संरक्षण ? अब हामी जाग्नैपर्छ ? अब एक मिनेट पनि ढिला गर्ने छुट छैन हामीलाई । सम्बृद्धिका नारा मात्रै फलाकेर मात्र पुग्दैन। अब हामीले बिजयलाई साथ सपोर्ट दिनैपर्छ। के गरेर हुन्छ ? कसरी हुन्छ ? आ आफ्नो क्षेत्र र लेवल बाट जति सकिन्छ त्यति। जे सकिन्छ त्यो । जे गरेर हुन्छ त्यो गरेर । जहाँ बाट हुन्छ त्यहाँ बाट । यो अवसरलाई गुम्न दिनुहुँदैन । यो अवसरलाई भरपुर प्रयोग गर्न सक्नुपर्छ ।
मनै देखि सल्यानी हो भने यो एउटा सुनौलो अवसर हुन सक्छ । यो अवसर हामीलाई भोलीका दिनमा प्राप्त नहुन पनि सक्छ । किनभने यत्तिका प्रतिभावान व्यक्तिहरुको जन्म युगमा एकचोटी हुन्छ । बेलैमा समयको सदुपयोग गरौँ । समयले हामलाई नसरापोस पछि । हामी जत्तिको मान्छेहरु यो हाम्रै प्रोजेक्ट हो भनेर, यो आफ्नै काम हो भन्ठानेर यो हाम्रै जिम्मेवारी भन्ठानेर लागिएन भने हामीले जीवनमा सबै गरेको पनि व्यर्थ छ ।
हामीले अहिले सम्म जे जे गर्याै आफ्नो लागि गर्याै । अब थोरै अरुका लागि गरौँ । मन देखि बिजयको आविस्कारलाई सहयोग गरौँ। मुठ्ठी खोलेर बाँच्न सिकौं ।अरुका लागि गर्दा समाजका लागि हुन्छ त्यो । समाजका लागि गर्दा सल्यानका लागि हुन्छ त्यो । अनि सल्यानका लागि गर्दा देशका लागि हुन्छ त्यो । देशबाट लिने मात्रै हैन देशलाई थोरै केही दिने पनि गरौँ भन्दै सबै विद्यालयहरुलाई यसरी नै जोडिन हुन अनुरोध गर्दछु ।
– भिमसेन वि.एम.
– सहायक प्रधानाध्यापक (जीवन ज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट ५ रिम, सल्यान)