काठमाडौँ ,
१९६५ जनवरी १८ मा नेपाल र क्यानडाबीच दौत्य सम्बन्ध स्थापना भएयता यी दुई देशबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । २००९ अक्टोबर १ मा नेपालले क्यानडाको ओट्टावामा आवासीय राजदूतावास स्थापना गरेपछि यो सम्बन्ध थप प्रगाढ भएको छ ।
क्यानडाको आवासीय राजदूतावास काठमाडौँमा खोलिएमा यो सम्बन्ध अझ कसिलो र बलियो बन्ने निश्चित छ । महामहिम, नेपालीलाई क्यानडाको भिसा लिन इन्डियाको दिल्ली जानुपर्ने बाध्यता हरेक दृष्टिकोणबाट पीडादायक देखिन्छ ।
आर्थिक भार , भौगोलिक दूरी र व्यक्तिगत सुरक्षाका कोणबाट हेर्दा भिसा लिन दिल्ली पुग्नु धेरै झन्झटिलो, असुरक्षित र खर्चिलो छ । क्यानडाको आवासीय राजदूतावास काठमाडौंमा स्थापना गरिएमा कूटनीतिक हिसाबले मात्रै होइन, मानवीय दृष्टिले पनि निकै उपयोगी हुनेछ । यसले सार्वभौमसत्तासम्पन्न दुई मुलुक नेपाल र क्यानडाबीचको सम्बन्धलाई व्यावहारिक रूपमा पनि नयाँ उचाइमा पुर्याउनेछ र नेपालबाट क्यानडा जानचाहने मानिसहरूका साथै नेपालबाट घर फर्किने क्यानडाली नागरिकहरूसमेत धेरै लाभान्वित हुनेछन् ।
अतः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा महामहिम प्रधानमन्त्रीसमक्ष नेपालमा क्यानडाको आवासीय राजदूतावास खोल्ने व्यवस्था अविलम्ब गरिदिनहुन हार्दिक अनुरोध गर्दछ ।
फणीन्द्र नेपाल अध्यक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा काठमाडौँ