प्रचण्ड र देउवाको भेट: एमसीसीको परियोजनाबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न सरकारले सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ । आज सत्तारुढ दलका दुई घटक नेपाली कांग्रेस र माओवादी केन्द्रका मूल नेतृत्वबीच भएको छलफलमा एमसीसी लगायतका समसामयीक विषयमा छलफल गर्न सर्वदलीय बैठक डाक्ने तयारी गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव तथा छोरी गंगा दाहालले सर्वदलीय सम्मेलन लगायतका विषयमा छलफल गर्ने तयारी स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको जानकारी दिईन् ।  ‘आज बिहान अध्यक्ष कमरेड प्रचण्डको सम्माननिय प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति शेर बहादुर देउवासङग प्रधानमन्त्री निवास वालुवाटारमा भेट भयो।

भेटमा अध्यक्ष कमरेड प्रचण्डले नेपाली काङ्ग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति सहित पदाधिकारीलाई सभापति मार्फत बधाई तथा शुभकामना प्रदान गर्नुभयो। भेटको अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो। सोही अवसरमा अध्यक्ष कमरेड प्रचण्डले क्रीकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो, उनले भनिन् ।

’ एमसीसी परियाेजना पारित गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ दल भित्रै विवाद छ । प्रधानमन्त्री देउवा निसर्त संसदबाट पास गरेर कार्यान्वयन गराउने पक्षमा छन् भने प्रचण्ड, माधवकुमार नेपाल संशाेधन गरेर राष्ट्रिय हीत विपरित नहुनेगरी पास गराउने पक्षमा छन् । अमेरिकाले भने नेपालबाट याे परियाेजना पारित गराउन ताकेता गर्दै समय थपिदिएकाे छ ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस