उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुटवलमा सुरु

बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले युवाको प्रतिभा उजागर गर्न खेलको विकास आवश्यक रहेकामा जोड दिए ।
स्वस्थ जीवनका लागि खेल अपरिहार्य रहेको जनाउँदै उनले नगर खेलकुद परिषद्को स्थापनाका साथै एक वडा एक खेलमैदानको अवधारणा अघि बढाइएको बताए । उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले युवा खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गरिएको बताए । देवीनगरस्थित कदरबहादुर रीता रायमाझी आद्योगिक माविमा सुरु भएको प्रतियोगितामा बेनी, तिलोत्तमा, बुटवल र वीरेन्द्रनगरले विजयी सुरुआत गरेका छन् ।
बेनी नगरपालिका, म्याग्दीले भीमदत्त नगरपालिका कञ्चनपुरमाथि २–० को सोझो सेटमा जित दर्ता गरेको हो । यसैगरी दोस्रो खेलमा तिलोत्तमाले कोहलपुर नगरपालिकालाई पराजित गर्दै स्पष्ट जित निकालेको छ । अर्को खेलमा आयोजक बुटवल उपमहानगरले गोदावरी नगरपालिकालाई पराजित गरेको छ । यस्तै वीरेन्द्रनगर नगरपालिका सुर्खेतले टीकापुर नगरपालिकामाथि २–१ को जित निकालेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उपविजेता समूहले रु ७५ हजार, कप, मेडल तथा प्रमाणपत्र, तृतीय हुनेले नगद रु ३५ हजार तथा चौथो हुने समूहलाई सान्त्वना पुरस्कार रु १५ हजार प्रदान गरिने खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिनुभयो । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विभिन्न जिल्लाका १० समूहले भाग लिएका छन् । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
Seen by Pradeep Oli at 8:54 AM

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस