आसन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कुरा नेपाली काँग्रेस भित्र पेचिलो बनिरहेको छ । नेतृत्व चयन हुनुभन्दा अघि प्यान बनाएर प्रतिस्पर्धा गर्ने तयारीमा रहेका संस्थापन र इतर पक्षका नेताहरुले साझा उम्मेदवार बनाउन सकेका छैनन् ।
संस्थापनमा शेरबहादुर देउवा र विमलेन्द्र निधीको नाम चर्चामा छ भने विपक्षी खेमामा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठकले आफ्नो पक्षको साझा उम्मेदवार तय गर्ने प्रयास गरेको छ । जसका लागि यसअघि चर्चामा रहेका शेखर कोईराला पछि हट्ने संकेत गरेका छन् ।
आजको बैठकले सभापतिको साझा उम्मेदवार तय गर्न भने सकेन । यद्यपि नेताहरू आफ्नो समूहबाट एकल उम्मेदवार तय हुन्छ भन्दै हिँडेका छन् । इतर समूहले मंगलबार र बुधबार लगातार छलफल गरे पनि आकांक्षीहरूबीच सहमति जुट्न सकेको छैन ।
वरिष्ठ नेता रामचन्द्र पौडैलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला इतरपक्षबाट सभापतिका आकांक्षी छन् । यद्यपि महामन्त्री शशांक कोइरालाले मंगलबारको बैठकमै पौडेलका लागि सभापतिमा आफूले दाबी छाड्ने बताइसकेका छन् । तर, त्यसका लागि प्रकाशमान र शेखरबीच सहमति हुनुपर्ने उनको अडान छ ।
आजको बैठकमा सभापतिका अर्का आकांक्षी शेखर पनि साझा उम्मेदवार घोषणा गर्ने विषयमा लचक भएका छन् । उनले बैठकमा प्रकाशमान सिंहले माने आफू रामचन्द्र पौडेललाई मान्न तयार रहेको संकेत गरेको बैठकमा सहभागी एक नेताले बताए । तर, प्रकाशमान भने कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने अडानमा छन् ।
उनले गणेशमान सिंह परिवारले कांग्रेसमा जहिले पनि त्याग गरेको भन्दै यसपटक अरुले आफ्ना लागि छाड्नुपर्ने बताइसकेका छन् ।