यस बर्षको विश्व बसोबास दिवस तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वन रहित विश्व भन्ने नाराका साथ मनाइने भएको छ । शहरी विकास तथा भवन निर्माण बिभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १८ गते अर्थात सोमबार बिभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउने जानकारी दिएको हो ।
हरेक बर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउने गरिन्छ । यस बर्षको नाराले न्युन कार्वन उत्सर्जन हुने वातावरणमैत्री विकासका क्रियाकलापहरु अवलम्वन गरी उत्थानसील दिगो शहरी बिकास गर्न प्रयास गर्नुपर्ने सन्देश दिएको विश्व वसोवास दिवस २०७८ मूल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाले सोमबार हुने कार्यक्रममा दिगो शहरी बिकासका लागि बिज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने उहाले बताउनुभयो । बढ्दो शहरीकरणका कारण पूर्वाधार र सेवा सुविधाको अपर्याप्तता, बढ्दो वायू प्रदुषण, फोहोरमैला विसर्जन जस्ता समस्या अहिले ठूलो चुनौतीका रुपमा रहेकाले यसैमा केन्द्रीत रहेर दिवस बनाइने उहाको भनाई छ ।
पत्रकार सम्मेलनमा बिभागका महानिर्देशक नवराज प्याकुरेलले पोखरीको जिर्णोदार पुराना सडक ममर्त गरिरहेको जानकारी दिनुभयो । पुराना शहरको निजी आवासलाई बलियो र पुनजिर्वित गर्न कार्ययोजना बढाइएको उहाले बताउनुभयो । उहाले नया शहर विकास कार्यक्रम, स्मार्ट सिटी विकास कार्यक्रम र बिभिन्न नगरपालिकाहरुमा एकीकृत शहरी विकास योजना तयार गर्ने कार्य गर्दै आएको बताउनुभयो ।
शहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखापरेका समस्या र चुनौति तथा तीब्र शहरीकरणले शहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार