एनआरएनएको आगामी महाधिवेशनमा अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आचार्यले नाष्सकता र सम्पतीको अधिकार स्थापित गर्ने प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा आचार्यले ‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो बढ्दै गएको भन्दै यसलाई सुधार गर्ने बताउनुभयो ।

उहाले संस्थाभित्र आर्थिक अनियमितता र दुरुपयोग राक्ने धारणा राख्नुभयो । कोभिड–१९ का कारण ठूलो सङ्ख्यामा नेपालीले रोजगारी गुमाएर स्वदेश फर्कनुपरेको भन्दै उहाले स्वदेश फर्केका नेपालीका लागि रोजगार सिर्जना गर्न सघाउन ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको जानकारी दिनुभयो ।

उहाले एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको भन्दै यसलाई प्राथमिकताका साथ उठाउने बताउनुभयो । एनआरएनएको दशौं विश्वसम्मेलन आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ । यसअघिको निर्वाचनमा आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस