मुख्य राजमार्ग हिलाम्य हुँदा दुई जिल्लाको जनजीवन कष्टकर

भोजपुर, ९ असोज (रासस) : भोजपुर र सङ्खुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–हिले सडकखण्ड हिलाम्य हुँदा यहाँका नागरिकको जनजीवन कष्टकर बनेको छ । यो सडकखण्डको निर्माणमा बेवास्ता गरिँदा दुई जिल्लाका नागरिक प्रत्यक्ष मारमा परेका हुन् । यो सडकखण्ड हिलाम्य हुँदा दुबै जिल्लामा यातयातका साधनसँगै खाद्यान्न ढुवानीमा समस्या भएको छ । दुई जिल्ला जोड्ने मुख्य राजमार्गका रुपमा रहेको यो सडकखण्ड वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा वर्षौंदेखि यस क्षेत्रका मानिसले सास्ती भोगिरहेका छन् ।
भोजपुर सदरमुकामबाट पूर्वी क्षेत्र हुँदै धनकुटाको सिमाना अरुण नदीको लेगुवाघाटसम्मको भोजपुर खण्डमा पर्ने ६६ किलोमिटर सडक कालोपत्र छ । तर धनकुटाको लेगुवा–हिले सडकखण्डको करिब २६ किलोमिटर निर्माणमा ढिलाइ हुँदा भोजपुर, सङ्खुवासभाका र धनकुटाका विभिन्न स्थानीयतहका स्थानीयवासी मारमा परेका छन् । वर्षात् सुरु भएपछि यस सडकखण्डमा छ घण्टासम्म सवारी तथा ढुवानीका साधन फस्ने गरेका छन् । सवारीका साधनलाई गन्तव्यसम्म पु¥याउन दुई वटासम्म ट्र्याक्टरले तान्नुपर्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन् । आकस्मिक दुर्घटना तथा जिल्ला अस्पतालमा उपचार हुन नसकेर रेफर गरिएका बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई झनै समस्या भएको छ । कतिपयले यस सडकका कारण अकालमा ज्यानसमेत गुमाएका छन् । “धरान, विराटनगर, काठमान्डौं जाने मुख्य सडक नै यही हो । दैनिक हजारौँको सङ्ख्यामा यही सडक भएर सवारी तथा ढुवानीका साधन चल्छन् । बाटोको अवस्था बेहाल छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार छ÷सात घण्टासम्म हिलोमा सवारी साधन फस्छन् । यता सरोकारवाला पक्ष रमिता हेरर बस्छन् ।
भोजपुरमा उपचार हुन नसकेको बिरामीलाई बाहिर लैजाने मुख्य मार्ग यही हो । अरु मानिस घण्टौँ बाटोमा अपलत्र परेर पनि गन्तव्यमा पुग्लान् । तर हिलाम्य बाटोका कारण अकालमा ज्यान गुमाएकाको जिम्मा कस्ले लिन्छ यो कस्तो लापरवाही हो उहाँको प्रश्न छ ?” भोजपुर र सङ्खुवासभाका लागि खाद्यान्न ढुवानी गर्ने मुख्य मार्ग पनि यही हो । चाडबाड नजिकिएसँगै खाद्यान्न ढुवानीमासमेत समस्या भएको व्यापारी बताउँछन् । हिलो सडकमा ठूला साधन फसेपछि अन्य सवारीका साधन दिनभरजसो बाटोमा अलपत्र पर्ने गरेका छन् ।
विभिन्न काम विशेषले यात्रा गर्ने यस सडकखण्डमा पुगेसँगै गन्तव्यविहीन हुने गरेका छन् । यस सडक खण्डबाट दैनिक हजारौँको सङ्ख्यामा यात्रुबाहक तथा ढुवानीको साधन आवतजावत गर्छन् । यति धेरै सवारी साधनको चाप हुँदा पनि सरोकारवाला पक्षले कुनै पहल कदमी नगरेको चालकको गुनासो छ । पाख्रीबास नगरपालिकामा रहेको करिब एक किलोमिटर सडक हिलाम्य छ । यहाँबाट हजारौँ यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सवारी चालक उज्ज्वल श्रेष्ठले भन्नुभयो, “दैनिक यही बाटो भएर यात्रा गर्नुपर्छ । बाटोमा लामो समयसम्म गाडी हिलोमा फस्छ । झनै एउटा मालबाहक ट्रक फस्यो भने त्यो निकाल्न कोसिस गर्दा गर्दै दिनरात यही बित्छ । ट्र्याक्टर लाएर सवारी साधनलाई तान्नुपर्छ ।
समयमा गन्तव्यमा पुग्न सकिँदैन । समयमा खान पाइँदैन । यात्रुको झनै बिजोग हुन्छ । यस्तो अवस्था देख्दा पनि यहाँका जनप्रतिनिधिसँगै सरोकारवाला पक्ष मौन छन् ।” बाटोमा सवारीसाधन घण्टौँसम्ममा रोकिदा विशेष कामले यात्रामा निस्केका मानिसलाई झनै समस्या भएको छ । यो क्षेत्रको सडक विस्तारको काम नहुँदा स्थानीयवासीलाई सास्ती भएको छ । सवारी तथा ढुवानीका साधनलाई दुई वटासम्म ट्र्याक्टरले तानेर गन्तव्यसम्म पु¥याउनुपर्ने अवस्था छ । तर सरोकारवाला पक्ष भने मौन छन् । ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलाइ गर्र्दा यात्रुबाहक तथा ढुवानीका साधन यहाँ घण्टाँैसम्म हिलोमा फस्ने गरेका छन् । विगतका दिनमा यो सडकमा ग्राभेल गरिएको थियो । सडक निर्माण गर्न भन्दै यहाँ लगाएको ग्राभेल भत्काइयो तर काम भएन । भोजपुर क्षेत्रको सडक कालोपत्र भए पनि सो क्षेत्रमा सडक निर्माणमा बेवस्ता गरिदा यहाँका जनताले मार भोग्दै आएका छन् ।
भोजपुरबाट छदेखि सात घण्टामा धरान पुग्दै आएका यात्रु अहिले १० देखि १२ घण्टामा मात्र धरान पुग्ने गरेका छन् । बाटो हिलाम्य भएर यातायात सञ्चालनमा समस्या हुँदा सङ्खुवासभाबाट अन्य अस्पताल रिफर गरिएका कतिपय बिरामीको बाटोमा ज्यान जाने गरेको सङ्खुवासभाका सवारी चालक दिपक राईले बताउनुभयो । मानवीय समवेदनासँग जोडिएको सडक निर्माणको काममा ढिला हुँदा पनि यसलाई बेवास्ता गरिएको उहाँको भनाइ छ । चालक राईले भन्नुभयो, “यो सङ्खुवासभाका नागरिकको दैनिकीसँगै जोडिएको छ । यहाँ चाहिने खाद्यान्न तथा सवारीका साधन यात्रा गर्ने मुख्य सडक यही हो । तर सडक निर्माणमा गरिएको बेवास्ताले धनकुटाकाभन्दा पनि हाम्रो ठाउँका मानिस प्रत्यक्ष मारमा छन् । सायद यही कारण होला सडकको यो अवस्था हुनु । बाटोका कारण मानिसको अकालमा ज्यान गइरहेको छ । बिरामी बोकेका एम्बुलेन्स घण्टाँै घण्टा हिलोमा फस्छन् । हामीलाई पनि यात्रुलाई गन्तव्यसम्म लैजान त्यस्तै सास्ती छ ।” पाख्रीबास नगरपालिकाले भने सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताएको छ । निर्माण व्यवसायीलाई चाँडो काम गर्नका लागि ताकेका गरिररहेको नगर उपप्रमुख देवकला पौडेल तिमल्सेनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सडकका कारण धेरै नै समस्या छ । हामीले निर्माण कम्पनीलाई समयमा काम गर्न भनिरहेका छौँ ।“ विगतमा निर्माण कम्पनीकोतर्फबाट काममा ढिला भएको हो । दुई वटा भागमा काम भइरहेको छ । ठेक्का लागेको सडक भएकाले हामीले बजेट विनियोजन गरेर काम गर्ने अवस्था छैन । तर पनि हामीले बेलाबेलामा आफ्नै एक्साभेटर प्रयोग गरेर सडकलाई मर्मत गरिरहेको उहाँको भनाइ छ । सडकलाई सहजरुपमा सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । विभिन्न बाहना बनाएर सडक निर्माणको काममा ढिलाइ भएको उनीहरुको अरोप छ ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस