काठमाडौं, फागुन १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन्।
उनी मतदान स्थगित गर्न विभिन्न प्रयास भइरहेको दाबी गर्दै भन्नुभयो कि एमाले कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको छ।
अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूले ठूलो धनराशि खर्च भइसकेको पनि बताएका छन्। उनले भने,
“हामी अब चुनाव होस् भन्ने पक्षमै छौं। चुनाव स्थगित हुन सक्छ भन्ने प्रयास अहिले पनि भइरहेका छन्। चुनाव भए पनि होस्, जेसुकै होस्, तर हामी नअलमलिकन चुनावको तयारीमा लाग्छौं। विजयको तयारीमा लागिसकेका छौं। हामीले जित्नै पर्छ।”
उहाँले विगत ६ महिनासम्म आफूहरूले प्रयास गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर “चुनाव हुँदैन” भन्नु गलत भएको बताए। उनले थपे,
“६ महिना हामीले कोशिस गर्यौं। हामीले कोशिस गरिरहँदा कसैको ध्यान गएको थिएन। अब समय पुगेको छ, त्यतिबेला ‘चुनाव हुँदैन’ भन्नु हुँदैन। देशको खर्च नहुने थियो तर अर्बौं खर्च भइसकेको छ। उम्मेदवारको खर्च पनि भइसकेको छ।”
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको व्यवहारप्रति लक्षित गर्दै भने, “कुनै आधार नभएको ‘जोडजाम वाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दुध जस्तै उम्लिएको छ। उनीहरूले ‘हामी जित्दैनौं’ भन्ने डरले अरूका झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्ने, अपमान गर्ने र बेइज्जत गर्ने क्रियाकलापहरू सुरु गरिसकेका छन्।”


