काठमाडौं, फागुन ४ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा आयोजित सैनिक मञ्चमा अमेरिकी सेनाको परेड भएको विषयप्रति आपत्ति जनाएको छ। पार्टीले यस घटनालाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथिको गम्भीर प्रश्नको रूपमा व्याख्या गरेको छ।
पार्टीका महासचिव विप्लव सीद्वारा जारी प्रेस विज्ञप्तिमा फागुन ३ गते नेपाली सेना दिवसको अवसरमा अमेरिकी सेनाको उपस्थिति र परेडले नेपाली जनतामा चासो र बहस उत्पन्न गरेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि नेपालको राजनीतिक दल र जनताको जानकारी वा सहमति विना यस्तो गतिविधि हुनु गम्भीर विषय हो।
माओवादीले अमेरिकाको हस्तक्षेपबारे देशमा बहस चलिरहेकै अवस्थामा यस प्रकारको सैनिक परेड आयोजनालाई रहस्यमय र आपत्तिजनक भएको दाबी गरेको छ। साथै, यस कार्यमा संलग्न पक्षहरूको भर्त्सना गर्दै घटनाबारे राज्यको आधिकारिक धारणा यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ।
विज्ञप्तिमा देशको स्वाधीनता दिनप्रतिदिन खतरामा परेको आरोप लगाउँदै यस्ता गतिविधिप्रति सजग रहन र आवश्यक परे प्रतिरोधका लागि तयार रहन आम नेपाली जनतालाई विशेष आह्वान गरिएको छ।


