दाङ–२ मा नेकपाप्रति बढ्दो आकर्षण, समर्थन र सुझावको ओइरो

घोराही, फागुन १ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दाङ मा विभिन्न राजनीतिक दलहरूले प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। जिल्लाको सबैभन्दा चासोको क्षेत्र मानिने क्षेत्र नम्बर २ मा मुख्य चार दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतदातालाई आकर्षित गर्न उम्मेदवारहरूले आफ्ना योजना र विकासका उपलब्धि प्रस्तुत गरिरहेका छन्। यद्यपि पछिल्ला दिनहरूमा भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा जनसमर्थन क्रमशः बढ्दै गएको देखिएको छ।

नेकपाका प्रत्यक्ष उम्मेदवार आचार्यलाई स्थानीयले सरल, इमानदार, बौद्धिक तथा जनभावना बुझ्ने नेताका रूपमा लिएका छन्। उहाँ सहभागी हुने टोलभेटघाटमा स्थानीयवासीले उत्साहपूर्वक स्वागत गर्दै विकाससँग सम्बन्धित माग तथा सुझावसमेत पेश गर्ने गरेका छन्। शनिबार बिहान घोराही–१५ सम्झौता टोल, घोराही–६ सिर्जनशील टोल, घोराही–१८ गोदाबरी टोल (ढोडेनी), घोराही–१८ बासखोली टोल, घोराही–१६ सपना टोल, घोराही–१७ पचुर्खा टोल तथा घोराही–९ तेघरा टोलका बासिन्दासँग भेटघाट गर्दै उहाँले क्षेत्रका समस्या र आवश्यकताबारे प्रत्यक्ष सुझाव संकलन गर्नुभयो। सो क्रममा उहाँले पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी दिँदै जनताको आवश्यकता केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

हाल क्षेत्र नम्बर २ का अधिकांश वडामा आचार्यले पहिलो चरणको जनभेटघाट सम्पन्न गरिसक्नुभएको छ। उहाँको राजनीतिक पृष्ठभूमि र प्रतिबद्धता बुझिसकेका धेरै मतदाताले समर्थन गर्ने इच्छा व्यक्त गरिरहेका छन्। स्थानीय कमला बुढाले विगतमा उठाइएका समस्या समाधान हुन नसकेको उल्लेख गर्दै यसपटक जनताको आवाज सुन्ने नेतृत्व आवश्यक भएको बताउनुभयो। त्यसैगरी टोपेन्द्र खड्काले विकास योजनालाई व्यवहारमा उतार्न सक्ने उम्मेदवार खोजिरहेको बताउँदै आचार्यप्रति भरोसा बढेको धारणा राख्नुभयो।

मतदाता दिलिप मगर पनि निकै उत्साहित देखिनुहुन्थ्यो। उहाँले आचार्यलाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै स्पष्ट विचार र दृष्टिकोण भएको नेताका रूपमा पाएको प्रतिक्रिया दिनुभयो। “काम गर्ने नेतालाई जिताउनु हाम्रो जिम्मेवारी हो,” भन्दै उहाँले यस क्षेत्रमा आचार्यको विकल्प नरहेको धारणा राख्नुभयो।

समानुपातिक उम्मेदवार पनि सक्रिय

नेकपाका समानुपातिक उम्मेदवार भिमकुमारी बुढा र सस्मति चौधरी पनि घरदैलो तथा जनभेटघाट कार्यक्रममा सक्रिय रहनुभएको छ। जनजाति समुदायबाट देशभर पहिलो क्रममा नाम समावेश गर्न सफल बुढाको लामो समयदेखिको वामपन्थी आन्दोलनमा योगदान, सामाजिक सक्रियता र सरल स्वभावले मतदाताको ध्यान तानेको स्थानीयको भनाइ छ।

त्यसैगरी थारु समुदायबाट देशभर दोस्रो स्थानमा नाम समावेश गर्न सफल चौधरीको सहज जीवनशैली, सरल व्यवहार र समुदायसँगको नजिकको सम्बन्धले सकारात्मक प्रभाव पारेको बताइन्छ। जनभेटघाटका क्रममा उहाँहरूले समावेशी विकास, सामाजिक न्याय र स्थानीय आवश्यकतामा आधारित कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू संयुक्त रूपमा गाउँ–टोलमा सक्रिय देखिन थालेपछि दाङ–२ मा चुनावी माहोल झन् तातिँदै गएको स्थानीय कृष्ण बुढाले बताउनुभयो।

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस