घोराही, जेठ ३०। साहित्यकार नारदप्रसाद भण्डारीद्वारा लिखित ‘युवालाई आह्वान’ गीतसङ्ग्रहको लोकार्पण तथा समीक्षा कार्यक्रम घोराहीमा सम्पन्न भएको छ। लेखक सङ्घ दाङको आयोजनामा नेपाल पत्रकार महासङ्घ दाङ शाखाको सभाहलमा आयोजित कार्यक्रममा लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा प्राज्ञ एवं संस्कृतिविद् डा. गोविन्द आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा प्राज्ञ उत्तमकृष्ण मजगैयाँ तथा साहित्यकार पुरुषोत्तम खनालको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटनसँगै प्रमुख अतिथि डा. आचार्यले ‘युवालाई आह्वान’ गीतसङ्ग्रहको विमोचन गर्नुभएको थियो। पुस्तकको समीक्षा साहित्यकार तथा समीक्षक कृष्णराज डी.सी.ले गर्नुभएको थियो। समीक्षा गर्दै उहाँले गीतसङ्ग्रहमा समावेश १०१ वटा गीतहरूले राष्ट्र, राष्ट्रियता, संस्कृति, भाषा, परम्परा, प्रकृति, शिक्षा, श्रम, युवाशक्ति तथा सामाजिक चेतनाका विविध पक्षलाई समेटेको बताउनुभयो।
उहाँले पुस्तकको आवरणले नै नेपालको हिमाल, पहाड, तराई, राष्ट्रिय झण्डा, पशुपतिनाथ, स्वयम्भूनाथ, लुम्बिनी तथा प्राकृतिक सम्पदाको चित्रणमार्फत राष्ट्रिय भावनालाई उजागर गरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार कृतिभित्रका गीतहरूले नेपाली समाज, संस्कृति, जन्मभूमिप्रतिको माया, युवाको दायित्व, श्रमको सम्मान, राष्ट्रिय एकता तथा सामाजिक सद्भावको सन्देश प्रवाह गरेका छन्।
समीक्षक डी.सी.ले पुस्तकमा प्रयोग गरिएको भाषा सरल, सहज र आम पाठकले बुझ्न सक्ने खालको रहेको उल्लेख गर्दै गीतहरूमा लोकजीवन, गाउँघरको परिवेश, प्रकृतिप्रेम तथा राष्ट्रप्रेमको प्रभावकारी प्रस्तुति पाइने बताउनुभयो। उहाँले युवालाई कुलत, निराशा र पलायनबाट टाढा राखी राष्ट्र निर्माणमा सक्रिय हुन प्रेरित गर्ने भाव पुस्तकको मुख्य विशेषता रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै पुस्तकका लेखक नारदप्रसाद भण्डारीले गीतसङ्ग्रह आफ्नो साहित्यिक यात्राको प्रारम्भिक प्रयास भएको बताउनुभयो। विभिन्न साहित्यिक कार्यक्रम, भ्रमण, सामाजिक गतिविधि तथा व्यक्तिगत अनुभूतिबाट प्रेरित भएर गीतहरू सिर्जना गरिएको उहाँको भनाइ थियो। उहाँले पुस्तकमा समावेश रचनाहरूका बारेमा पाठक तथा साहित्यिक व्यक्तित्वहरूबाट प्राप्त सुझावलाई आगामी संस्करणमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लेखक भण्डारीले आगामी दिनमा ‘दाङ दर्शन’ नामक अर्को कृति प्रकाशन गर्ने योजना रहेको जानकारी पनि दिनुभयो। दाङ जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कृतिमा काम भइरहेको उहाँले बताउनुभयो। साथै बयालडाँडा लगायत स्थानीय पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारमा साहित्यले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख अतिथि डा. गोविन्द आचार्यले गीतसङ्ग्रहले सरल भाषामार्फत समाज, संस्कृति, कृषि, श्रम, राष्ट्रप्रेम तथा युवाचेतनालाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको बताउनुभयो। उहाँले साहित्यमा ‘सत्यम्, शिवम्, सुन्दरम्’को भावना हुनुपर्ने उल्लेख गर्दै भण्डारीका सिर्जनाहरूले सत्य, कल्याण र सौन्दर्यका पक्षलाई आत्मसात् गर्ने प्रयास गरेको बताउनुभयो।
डा. आचार्यले गीत लेखनमा लय, छन्द तथा संरचनात्मक पक्षलाई अझ परिष्कृत गर्दै लैजान सुझाव दिँदै आगामी दिनमा लेखकबाट अझ परिपक्व र स्तरीय कृतिहरू प्रकाशन हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले साहित्यले समाजलाई सकारात्मक दिशा दिन सक्ने भएकाले यस्ता सिर्जनात्मक प्रयासहरूलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी साहित्यकार, पत्रकार, बुद्धिजीवी तथा साहित्यप्रेमीहरूले ‘युवालाई आह्वान’ गीतसङ्ग्रहले विशेषगरी युवापुस्तालाई सकारात्मक सोच, राष्ट्रप्रेम, श्रमप्रति सम्मान तथा सामाजिक उत्तरदायित्वबोधका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष खगराज न्यौपानेले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै यस्ता कृतिहरूले समाजमा सकारात्मक चेतना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले लेखक नारदप्रसाद भण्डारीलाई आगामी साहित्यिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरूले ‘युवालाई आह्वान’ गीतसङ्ग्रहले राष्ट्रप्रेम, सामाजिक चेतना, श्रमको सम्मान तथा युवाशक्तिलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने महत्वपूर्ण सन्देश प्रवाह गरेको बताएका थिए। उनीहरूले साहित्य समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै युवापुस्तालाई राष्ट्र निर्माण, सामाजिक उत्तरदायित्व तथा सांस्कृतिक संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने खालका सिर्जनाको आवश्यकता औँल्याएका थिए।
कार्यक्रममा लेखक सङ्घमा आबद्ध विभिन्न पदाधिकारी, राप्ती साहित्य परिषद्मा आबद्ध पदाधिकारी, स्रष्टा, साहित्यकार, साहित्यप्रेमी तथा विभिन्न सङ्घसंस्थामा आबद्ध कर्मचारी एवं पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
लेखक सङ्घ दाङका उपाध्यक्ष गोविन्द पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लेखक सङ्घ दाङकी सचिव सरिता देवकोटाले गर्नुभएको थियो।


