दलित अधिकारका लागि कम्युनिस्टलाई जिताउः गीता विक (सपना)

राेल्पा, फागुन ११ । नेपाल दलित मुक्तिमोर्चा रोल्पाको निर्वाचन परिचालन समितिको आयोजनामा मतदाता भेटघाट अभियानअन्तर्गत फागुन १० गते कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाली कम्युनिस्ट पार्टीका नेतृ तथा समानुपातिक उम्मेदवार गीता विक (सपना) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार गीता गहतराज (सपना) ले देशमा प्राप्त उपलब्धिहरू माओवादी जनयुद्धका कारण सम्भव भएको उल्लेख गर्दै ती उपलब्धिहरूको रक्षा गर्न पुनः नेपाली कम्युनिस्ट पार्टीलाई विजयी बनाउन सबैसँग अपिल गर्नुभयो। उहाँले दलितहरूको अधिकार सुनिश्चित गर्न नेपाली कम्युनिस्ट पार्टीको विजय अनिवार्य रहेको बताउँदै सम्पूर्ण जनसमुदायको साथ आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रममा नेपाल दलित मुक्तिमोर्चा नेपालका केन्द्रीय उपमहासचिव कर्मलाल परियारले दलित अधिकार संस्थागत गर्न ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।

मतदाता भेटघाट कार्यक्रम माडीको घर्ती गाउँ, बाग्माराको बादी बस्ती, घर्ती गाउँ, परिवर्तन गाउँपालिकाको थुनिकोट, इरिबाङ तथा परिवर्तन गाउँपालिकाको कुरेलीस्थित दालिमलगायत स्थानमा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी प्रदेश समिति सदस्य हितकुमारी बुढा, शुकबहादुर बुढा, नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य मोहवीर विक, पालिका प्रतिनिधिलगायतले पनि दलित अधिकारका लागि नेपाली कम्युनिस्ट पार्टीलाई विजयी गराउन आह्वान गर्नुभयो।

कार्यक्रमको सहजीकरण निर्वाचन परिचालन समितिका संयोजक मान सिंह विश्वकर्माले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस