घोराही, ४ फागुन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका रेनु दहाल हाल घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । उहाँले आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले अत्यन्त उत्साहित भएको बताउनु भएकाे छ। भरतपुर महानगरपालिकामा ९ वर्षे कार्यकाल पूरा गर्नु भएकाे उहाँले आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताले जनताबाट ठूलो स्नेह पाएको अनुभव व्यक्त गर्नु भएकाे छ ।
उहाँ भन्नु हुन्छ, “निर्वाचनमा जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ। तथापि मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी हुने आशा पनि राखेको छु।” यसैबीच, उहाँले मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नु भयाे ।
त्यस्तै दाहालले सम्बन्धित सबैमा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन वा प्रसारण नगर्न अनुरोध गर्नु भएकाे छ । साथै लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको सहयोगको अपेक्षा समेत व्यक्त गर्नु भएकाे छ ।


