काठमाण्डौ, फागुन ३ ।निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज राति १२ बजेदेखि प्रचार अवधि सुरु भई १८ गते राति १२ बजेसम्म कायम रहनेछ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले तोकिएको समयसीमाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्नुपर्ने स्पष्ट गर्नुभयो।
सञ्चारकर्मीसँगको छलफलमा आयोगले प्रचारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूले आचारसंहिताको दायरा ननाघ्न विशेष ध्यान दिन आग्रह गरेको छ।
आयोगका अनुसार आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने र गम्भीर अवस्थामा उम्मेदवारी नै खारेज गर्ने सम्मको कारबाही हुन सक्नेछ।
“यदि आचारसंहिता उल्लङ्घन गरेको ठहर भएमा उम्मेदवारी खारेज हुनसक्छ र सम्बन्धित व्यक्ति आगामी ६ वर्षसम्म कुनै पनि राजनीतिक प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी आयोगले निर्णय गर्न सक्छ,” भण्डारीले चेतावनी दिँदै भन्नुभयो।


