रुन्टिगढी ४ को अध्यक्ष पदमा नेपाली कांग्रेसका भुपमणी पुन बिजयी

रुन्टिगढी गाँउपालिका वडा न. ४ को अध्यक्ष पदमा नेपाली कांग्रेसका भुपमणी पुन बिजयी भएका छन् । मंसिर १६ गते भएको वडा अध्यक्ष पदको उपनिर्वाचनमा कुल खसेको १२ सय ९७ मत मध्य ६ सय ४३ मत प्राप्त गरि कांग्रेसका भुपमणी पुन बिजयी भएको मुख्य निर्वाचन अधिकृत बिनोद खटिवडाले बताउनु भएको हो ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट बेगम पुन मगरले ५३५ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले पनि ७ मत पाएको मुख्य निर्वाचन अधिकृत खटिवडाले बताउनु भएको छ ।
जम्मा १ हजार ९ सय मत मध्य १ हजार २ सय ९७ मत खसेको थियोे । जसमा २१ मत बदर भएको छ। उपनिर्वाचनमा कांग्रेस उमेदवार भुपमनी पुन नेकपा एमालेका उम्मेदवार बेगम पुन मगर भन्दा १ सय ८ को मतान्तरले बिजय भएका हुन् ।

रुन्टिगढी गाउँपालिका वडा न. ४ का अध्यक्ष टंक बहादुर पुनको स्क्रब टाइफसका कारण २०८० असार २७ गते अस्पतालमा निधन भएको थियो । पुन नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्ष थिए । उक्त रिक्त पदका लागि आइतबार बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म मतदान भएको थियोे । रुन्टिगढी गाउँपालिका वडा न. ४ को उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोग स्थानीय तह उपनिर्वाचन २०८१ मुख्य निर्वाचन कार्यालयले बताएको छ ।

 

 

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस