
काठमान्डौं ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र नं.२ (ख) का प्रदेश सभाका प्रत्यक्ष साँझा उम्मेदवार अमरसिंह पुनले हिजो फरक फरक भएको मञ्च आज एउटै भएको बताएका छन् ।
निर्वाचन परिचालन समिति रोल्पाले आयोजना गरेको लोकतान्त्रिक बाम गठबन्धनको घरदैलो अभियान तथा कोण सभा कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका पुनले सो कुरा बताएका हुन् । लिबाङको टुडिखेलमा भएको कोण सभालाई सम्बोधन गर्दै पुनले आजको राष्ट्रिय राजनीतिको परिस्थिति अनुसार लोकतान्त्रिक बाम गठबन्धन शक्तिहरु एउटै मञ्चमा होमिएको बताए ।
गठबन्धनले विभिन्न ठाउँका साँझा कार्यक्रमहरु सम्पन्न गरेको बताउदै सकारात्मक सुझाव आएकोले रोल्पाको समृद्धि र विकासका लागि परिवर्तनकारी रोल्पालीले सहयोग गर्ने अपेक्षा लिएको समेत बताए । रोल्पामा स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० मा सम्पन्न भए झै १ सय ६५ निर्वाचन क्षेत्रमा निष्पक्ष, स्वतन्त्र, भइरहित र शान्तपूर्ण वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व भएको समेत बताए ।
रोल्पामा प्रतिनिधि सभा र प्रदेश सभामा लोकतान्त्रिक बाम गठबन्धनले जितेमा संघ र प्रदेश सरकारमा सौहार्दपूर्ण समृद्धि र विकासका लागि वातावरण बन्ने समेत जिकिर गरे ।