काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपामा छँदा पुष्पकमल दाहाल प्रचण्डले आफूलाई घात गरेको टिप्पणी गरेका छन् । माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीको साधारण सदस्यबाट समेत निकालेको स्मरण गर्दै यस्तो बताएका हुन्। आफू पार्टी र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्छ भन्ने पक्षमा भए पनि प्रचण्डले आफूलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको ओलीको दाबी छ।
उनले प्रचण्डलाई आउनुस् एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढौं भनेर अध्यक्ष बनाएको भए पनि आफ्नो सिटको छेउमा राख्दा टाउकोमा टेकेको बताए ।
आफूले महाधिवेशनसम्म पर्खिए अध्यक्ष बनाउने भनेपनि प्रचण्डले आफूसँग बहुमत पुगेको र बहुमत पुगेकै बेला निकाल्छु भनेर साधारण सदस्यबाट हटाएको आरोप लगाए।
आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ । आफुले प्रचण्डलाई अँगालो हालेको भए पनि प्रचण्डले हात लुकाई लुकाई छुरी रोपेको बताए ।
आफु एकता, एकीकरण भन्ने, पार्टी आन्दोलन जोगाउनुपर्छ भनेर लागेको भए पनि प्रचण्डले आफुलाई साधारण सदस्यबाट निकालेर कम्युनिष्ट आन्दोलनलाई नै सक्न खोजेको बताए ।
उनले माओवादी अध्यक्ष प्रचण्लाई विषालु सर्पको सज्ञा दिएका छन् ।