पहिलो पटक एमालेका उपाध्यक्ष नेम्वाङ प्युठान आउँदै

प्युठान – नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्युठान आउँदै छन् । पार्टी कार्यक्रमको शिलशिलामा उनी पहिलो पटक प्युठान आउँने भएका हुन् ।

एमाले प्युठान जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेम्वाङ साउन ३० गते प्युठान आउन लागेका छन् । समसामयिक राजनीतिकि परिवेश, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी प्रमुख प्रशिक्षकको रुपमा उनले प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा प्रदेश विभागिय सदस्यहरु, जिल्ला कमिटी, पालिका कमिटी, जिल्ला कमिटी सल्लाहकार, वडा कमिटी पदाधिकारी, जनवर्गिय संगठनका पदाधिकारी र एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु गरी करिव १५०० जनाको सहभागीता रहने जिल्ला अध्यक्ष विजय विराज विष्टले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमलाई नेम्वाङसँगै एमाले स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज विमला घिमिरे, पोलिटव्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजाल र केन्द्रीय अनुशासन आयोगका सदस्य झपेन्द्र जिसीले सम्बेधन गर्ने कार्यक्रम रहेको एमाले प्युठानले जनाएको छ ।

साउन २० र २१ गते सम्पन्न एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले प्रदेशभरका जिल्लाहरुमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका तय गरेको थियो ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस