कार्यदलले काम थाले, मिटरब्याजी पीडितको यसअघि पनि सरकारको सम्झौताबाट धोका भएको भन्दै अहिले त्यतिकै घर नफर्किने अडान

काठमाण्डाै – मिटरब्याजी पीडितहरुले सरकारी कार्यदलमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

सरकारले माग पूरा गर्न भन्दै कार्यदल गठन गरे पनि आफूहरु विश्वस्त हुन नसकेको उनीहरुको भनाइ छ । यसअघि पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएको, तर पूरा नभएको भन्दै अब त्यत्तिकै घर नफर्कने उनीहरुले अडान लिएका छन् ।

काठमाण्डौमा धर्ना बसेका नवलपरासीका मिटरब्याजी पीडितहरुसँग सरकारी कार्यदलले हिजो वार्ता गरेको थियो । कार्यदलले प्रमाण सङ्कलन र अनुसन्धान अगाडि बढाउने आश्वासन दिँदै घर फर्किन आग्रह गरे पनि पीडितहरूले यसअघि पनि सरकारसँग सम्झौता गरेर फर्किँदा धोका भएको भन्दै अहिले त्यतिकै घर नफर्किने अडान लिएका हुन् ।

नवलपरासीका मिटर ब्याजी पीडितहरूले १० दिन अघिदेखि काठमाण्डौको माइतीघरमा धर्ना दिँदै आएका छन् । उनीहरुको समस्या बुझ्न र समाधान गर्न भन्दै सरकारले हिजो गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले हिजोदेखि नै काम थालेको छ ।

कार्यदलले हिजो पीडितसँग छलफल गरेर घर जान आग्रह गरे पनि पीडितहरु तत्काल घर फर्कने पक्षमा छैनन् । यसअघि असारमा पनि पीडितहरुले धर्ना दिएपछि सरकारले समस्या सुनुवाइ भएको भन्दै अनुसन्धान गर्ने आश्वासन दिएको थियो । तर सरकारले आश्वासनअनुसार काम नगरेको भन्दै पीडितहरु फेरि काठमाण्डौ आएका हुन् ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस