५ दलीय गठबन्धको सिट बाँडफाँड – कसलाई कति ?

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले मंसिर ४ गतेका लागि घोषित प्रदेश तथा संघीय चुनावलाई केन्द्रीत गरेर सहकार्यका लागि छलफल अघि बढाएको छ । गठबन्धनले सहकार्यको मोडालिटि, सिट सँख्या बाँडफाँड, चुनावी तालमेल वा गठबन्धन लगायतका विषयमा एकै धारणा बनाउन कार्यदल नै गठन गरेर गृहकार्य गरिरहेको छ ।

कार्यदलको आज बसेको बैठकले आगामी बैठकमा पेश गर्ने गरि आ आफ्नो दलका तर्फबाट सिट बाँडफाँडमा दावी पेश गर्ने समझदारी पनि बनाएको कार्यदलका सदस्यसमेत रहेका संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका थिए । साथै आजैको बैठकले काँग्रेसका तर्फबाट कार्यदलका सदस्य पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलालाई संयोजक चयन गरेको छ ।

कार्यदलमा कुन दलले कति सिट लिने भन्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको एक सदस्यले जानकारी दिए । गठबन्धनमा रहेका सवै दलहरुले आ आफ्नो दावी तर्क र जित्ने संभावनाको हिसावसहित पेश गर्ने तयारी गरिरहेका छन् ।

कांग्रेसले एक सय सिट आफूलाई राखेर बाँकी ६५ सिट गठबन्धनका ४ दललाई बाढ्ने तर्क अघि सारिरहँदा माओवादी केन्द्रले पनि आफ्नो प्रस्ताव अघि सारेको छ । औपचारिक रुपमा आगामी बैठकमा देशभर अघिल्लो चुनावमा प्राप्त गरेको मत, स्थानीय तहको चुनावको परिणाम र संभावनालाई विश्लेषण गरेर सिट बाँडफाँडको मोडल पेश गर्ने माओवादीको तयारी रहेको एक सदस्यले जानकारी दिए ।

माओवादीले गठबन्धनको पहिलो दल नेपाली कांग्रसलाई ७० सिट, माओवादी केन्द्रलाई ६० सिट बाँडफाँड गर्नुपर्ने प्रस्ताव तयार पारेको छ । माओवादीले नेकपा एकीकृत समाजवादीका लागि १८ सिट, जनता समाजवादी पार्टीका लागि १६ सिट र राष्ट्रिय जनमोर्चाका लागि १ सिट बाँडफाँड गर्नुपर्ने प्रस्ताव गर्न लागेको हो । यसो गर्दा कुल १६५ सिटमा गठबन्धनले दावी गर्ने छ ।

सिट बाँडफाँडको आधार तय गर्न यस अघि कुन दलले कुन क्षेत्रमा जितेको हो त्यसलाई निरन्तरता दिने, निकटत् प्रतिद्धन्दी भएकालाई दोस्रो प्राथामिकतामा राख्ने र एमालेले जितेका स्थानको सिट जित्ने संभावनाका आधारमा विभाजन गर्ने मोडलमा छलफल हुन लागेको हो ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस