एमालेबाट कांग्रेसमा प्रवेश गरेकै कारण आफ्नै साथीबाट रगताम्य हुने गरी कुटाइ खाए एक युवाले

काठमाडौं । जाजरकोट छेडागाड गाउँपालिका ३ का एक दलित युवाले एमालेबाट कांग्रेसमा प्रवेश गरेकै कारण आफ्नै साथीबाट रगताम्य हुनेगरी कुटाइ खाएका छन् ।

जातीय अपहेलित हुने शब्दको प्रयोग गर्दै सोही गाउँका नेकपा एमाले जिल्ला कमिटी सदस्य सत्यनारायण गिरीले उनलाई कपडा खोलेर रगताम्य हुनेगरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले सत्यनारायण गिरीले लालबहादुर नेपालीलाई जातीय अपहेलित हुने शब्द प्रयोग गर्दै रगताम्य हुनेगरी कुटपिट गरेको जनाएको छ ।

जाजरकोट प्रहरीका सूचना अधिकारी प्रहरी इन्सपेक्टर खुमानन्द पाण्डेका अनुसार घटना आइतबार साँझ साढे ६ बजेको हो ।

‘‘गिरी र नेपाली पहिलेदेखि एमाले पार्टीमा आवद्ध एउटै गाउँका साथी रहेछन् । आइतबार गिरी र पिडित नेपालीले स्थानीय दिनेशको होटलमा बसेर जाँडरक्सी खाएका रहेछन् । रक्सी खाने क्रममा पार्टी प्रवेशकै विषयमा विवाद भएछ । त्यसपछि नेपालीमाथि हातपात भएको रहेछ,” उनले भने ।

प्रहरीका अनुसार केही दिन पहिले नेपाली एमालेबाट कांग्रेसमा प्रवेश गरेका थिए । अहिले उक्त पीडितको रगताम्य भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । दुवै जनालाई नियन्त्रणमा लिएको केहीबरपछि प्रहरीले छाडिदिएको जनाएको छ । उनले भने, ‘‘यद्यपी दुबैमाथि प्रहरी अनुसन्धान भने जारी छ ।”

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस