प्युठानमा जीप दुर्घटना हुँदा ८ को मृत्यु, ५ घाइते

गौमुखी गाउँपालिका–६ लिवाङमा दुलही लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् । ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटामा दुर्घटना भएको स्थानीय पदम बहादुर केसीले जानकारी दिए । प्यूठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको जीप राती १ बजेको समयमा दुर्घटना भएको केसीले बताए ।

दुर्घटनामा ज्यान गुमाउनेमा एक बालिकासहित पाँच महिला र तीन पुरुष रहेका छन्। मृतक आठ जनामध्ये एकै परिवारका तीन जना समेत रहेका प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा गौमुखी गाउँपालिजीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियाे । रातभर पानी परेको र बाटो चिप्लाे भएका कारण जीप दुर्घटना भएकाे डीएसपी थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा गौमुखी गाउँपालिका-६ जिनावबाङका ३९ वर्षीय वसन्त खड्का, उहाँकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरुकी ११ वर्षीया छोरी एलिसा खड्काको ज्यान गएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा त्यही  वडाका २९ वर्षीया केशरी खड्का, ५० वर्षीय जीप चालक बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्काको ज्यान गएको छ । यस्तै नौबहिनी- ६ लुङकी १८ वर्षीया विपना जीसीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जीसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जीसी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप आज बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियाे । नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेकाे थियाे ।

प्युठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार बेहुलीको एउटा हात भाँचिएको छ । गम्भीर घाइते बेहुलीसहित तीन जनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बेहुला दानबहादुर खड्का र सावित्रा जीसीको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस