
दाङ – दाङ देउखुरी जिल्ला अदालतले देउखुरीको सोही बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा किरण भण्डारी र रुकमाङ्गद ज्ञवालीलाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउन आदेश दिएकाे छ ।
अदालतले संस्थाकाे रकम हिनामिना प्रकरणमा दुवै जनालाई जनही ५०/५० रुपैयाँ लाख धरौटी मागको आदेश गरेको थियाे । तोकिएको धरौटी बुझाउन नसकेपछि दुवै जना जिल्ला कारागार घोराही पठाइएको छ ।
धरौटी बुझाउन नसक्नेहरू तल्कालीन महाप्रभु बचत तथा ॠण सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् । याे संस्था गएकाे वर्ष एकीकरण भएर अहिले देउखुरी बचत तथा ॠण सहकारी संस्था भएको छ । गएकाे साउनमै प्रतिवादीमध्ये राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी अदालतले मागेको साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा हुनुभएको थियो ।
त्यस्तै अदालतले यस सहकारीका कोषाध्यक्ष रामकृष्ण पौडेललाई २५ लाख रुपैयाँ धरौटी मागेकोमा उनी तोकिएको रकम बुझाएर तारेखमा रिहा भएका दाङ जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिनुभएको छ ।
राप्ती गाउँपालिका ८ मा साेही सहकारीका शिवध्वज मल्लसहितका शेयर सदस्यहरूले पाँच करोड २७ लाख २६ हजार ६ सय ९२ रुपैयाँ हिनामिना गरेका भन्दै २५ जनालाई प्रतिवादी बनाएर अदालतमा गएकाे असारमा जाहेरी दिइएकाे थियाे । रकम हिनामिना प्रकरणमा अदालतले यसअघि २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । मुद्दाको अन्तिम फैसला हुन बाँकी नै छ ।