१८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी सोलुखुम्बुबाट निर्यात

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुबाट यस वर्ष १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी जिल्ला बाहिर निर्यात भएको छ ।

वैशाखदेखि मंसिरसम्ममा १२ मेट्रिक टन खुर्सानी जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुको नेचासल्यान, महाकुलुङ र सोताङ गाउँपालिकामा व्यावसायिक रुपमा खुर्सानी खेती हुँदै आएको छ । यसवर्ष अकबरे खुर्सानीको उत्पादन झण्डै ८ प्रतिशतले बढेको छ ।गएको वर्ष १ सय ४० मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष १ सय ५२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ ।गएको वर्ष २१ दशमलव ३ हेक्टरमा उत्पादन भएको केन्द्रका सूचना अधिकारी राईले जानकारी दिनुभयो।

केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार सोलुखुम्बुको अकबरे खुर्सानी पूर्वको धरान, मोरङसहित काठमाण्डौलगायतका सहरमा उच्च माग छ ।खुर्सानीको माग बढेसँगै राम्रो आम्दानी हुने हुँदा किसान व्यावसायिक खेतीतर्फ लाग्न थालेका छन् ।

 

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस