चिसोको कारण तराइमा निमोनिया र रुघाखोकीको बिरामी बढे

तराईका जिल्लामा शितलहरसँगै चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका हुन् ।

रुपन्देहीका विभिन्न स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेका छन् ।

चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा। मनोहर जोशीले बताए । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

गौतमबुद्ध मुटु अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा। समिर गौतमले जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप बढ्ने र प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्ने भन्दै सतर्कता अपनाउन आग्रह गरे ।

स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामी चिसोका कारण बढेको लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्य शाखाका अहेव भोजराज पोखरेलले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लगायतका अस्पतालमा पुस लागेसँगै रुघाखोकी, निमोनिया र टाईफाईडका बिरामी बढेका हुन् ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस