काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुक्रबार बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रचण्डको प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल गर्ने र समूह नेताहरूले छलफलको निष्कर्ष सुनाउने कार्य बिहीबार सकिएको छ ।
आज शुक्रबार दिउँसो १ बजेबाट शुरु हुने बैठकमा नेता राम कार्कीले ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि राखेको पूरक मतमाथि छलफल हुने भएको छ । आजै अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि रहेको छ । अब माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ ।
जसमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी हुनेछ ।