प्रधानमन्त्री देउवाले बोलाए एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक – एमाले नजाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले नजाने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएकोले आफूहरू सहभागी नहुने एमालेका नेताहरूले बताएका छन् । संघीय संसद्मा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।

एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताए । ‘सर्वदलीय बैठकमा को-को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ,’ पोखरेलले भने, ‘हामीले रिकज्नाइज (मान्यता नदिएका) नगरेकाहरूलाई बोलाए त हामी कसरी उपस्थित हुने ?’

संसद् अवरोध र एमसीसीबारे सरकारको नेतृत्व गरिरहेको दल कांग्रेससँग छलफल हुनसक्ने पोखरेलले बताए । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने भनिएका सबै दललाई बोलाए एमाले सहभागी नहुने बताएका छन् ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस